परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन पेश गर्न निर्देशन



काठमाडौं,जेठ १९ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन समयमै पेश गर्न निर्देशन दिएको छ । समितिको आयोजनामा बुधवार समितिकै कार्यालयमा निर्जीवन बीमा कम्पनीका परिपालन अधिकृत र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीलाई उक्त निर्देशन दिइएको हो ।

समितिका कानून तथा नियमन महाशाखा प्रमुख एवं निर्देशक दिनेशकुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा समितिमा पेश गर्न निर्देशन दिए । परिपालन अधिकृतहरूले कम्पनीमा बीमा ऐन, नियम र समितिबाट जारी निर्देशिका, निर्देशन एवं परिपत्र अनुसार काम भएको छ कि छैन, समस्या के के छन् भन्ने बारेमा तथ्यपरक ढंगले उल्लेख गरी समस्या समाधानको कार्ययोजनासहित परिपालन प्रतिवेदन पेश गर्नुपर्ने उनले बताए । बीमाक्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिमलाई ध्यानमा राखेर पर्याप्त काम भएको नपाइएकाले त्यस्तो जोखिमलाई समेत विशेष ध्यान दिई उक्त प्रतिवेदन तयार गरी सम्बद्ध निकायमा जानकारी दिनुपर्ने निर्देशक लालको भनाइ थियो । कार्यक्रममा समितिका नियमन शाखा प्रमुख एवं उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदनसम्बन्धी प्रस्तुति दिएका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्