बाह्रै महीना हुने जुत्तामेलाप्रति एशोसिएशनको आपत्ति
काठमाडौं,जेठ १५ । काठमाडौंको भृकुटीमण्डपमा हुने जुत्ता मेलाप्रति फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आपत्ति व्यक्त गरेको छ । एशोसिएशनले स्वदेशी उत्पादन प्रवर्द्धनका लागि वर्षमा दुईपटक बिजनेश एक्स्पो र एकपटक अन्तरराष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएकोमा त्यसलाई निरुत्साहित गर्नेगरी बाह्रै महीना मेलाका नाममा ‘दोकान राखेको’ भन्दै त्यसप्रति आपत्ति प्रकट गरेको हो ।
‘स्वदेशी जुत्ता प्रदर्शनीको नाममा भृकुटीमण्डपमा बाह्रै महीना सञ्चालन हुने जुत्ता मेलाको सन्दर्भमा यो एशोसिएशनको सधैं विमति छ,’ एशोसिएशनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वैधानिक व्यवस्था समेत गरी कार्यान्वयन हुँदै आएकोमा सहमति विपरीत केही उद्योगी व्यवसायीले पुन: जुत्ता मेला सञ्चालन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
विशेषगरी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आम उपभोक्ताको बीचमा आफ्ना उत्पादन परिचित गराउने उद्देश्यले मेला आयोजना गरिनुपर्नेमा मनपरी भइरहेको एशोसिएशनको ठहर छ । ‘बाह्रै महीना दोकानको रूपमा सञ्चालन गरिने यस्ता मेलाले औद्योगिक प्रदर्शनीलाई खल्लो बनाउने त छँदै छ, प्रदर्शनीको पार्किङको रूपमा मात्र भाडामा दिनुपर्ने प्रवेशद्वारतिरको ठाउँलाई सामान विक्रीवितरण गर्नेगरी भृकुटीमण्डप सञ्चालन कार्यालयले भाडामा दिइएकाले स्वच्छ व्यावसायिक वातावरणमा असर परिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।