निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसला अध्ययन गरेर निर्णय लिन्छौं : प्रधानमन्त्री
काठमाडौं,जेठ १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तरराष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको फैसला अध्ययन गरेर आवश्यक निर्णय लिने बताउनुभएको छ ।
उहाँले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा सांसदहरुले उठाएको जवाफ दिंदै निजगढ विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको फैसला अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।
साथै उहाँले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तीन वर्षअघि नै तयार भएको भन्दै त्यतिबेला किन नबुझेको भनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीतर्फ प्रतिप्रश्न गर्नुभयो ।
प्रधानमन्त्री देउवाले यस्ता कूटनीतिको विषयमा कदम चाल्दा पर्याप्त सावधानी अपनाउनुपर्ने पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले प्रतिवेदन बुझ्ने वातावरण बनाउन सरकार लागिरहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले सरकार एक चीन नीतिप्रति स्पष्ट रहेको बताउनुभयो । उहाँले छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले एकैपटक, एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण विषय भएको भन्दै छिटफूट घटनालाई लिएर समग्र प्रक्रियामाथि प्रश्न चिन्ह उठाउन नहुने बताउनुभयो ।
उहाँले जनमतलाई स्वीकार गर्नुको विकल्प नभएको बताउनुभयो । नीति तथा कार्यक्रमामाथि छलफलको क्रममा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधली भएको आरोप लगाएका थिए ।