आर्थिक संकट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका लागि श्रीलंकाका राष्ट्रपतिको आह्वान



कोलम्बो (श्रीलंका), जेठ १४ । देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षले बिहीवार अन्तरराष्ट्रिय समुदायलाई श्रीलंकालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गरेका छन् ।  

‘हामी अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेका छौं जसले सबै श्रीलंकालीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ । 

हामीलाई तुरुन्तै अन्तरराष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ र म श्रीलंकाका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपील गर्दछु’, राजापाक्षले २७ औं अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भने । जापानको टोकियोमा भिडियोमार्फत आयोजित फ्युचर अफ एसिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा उल्लेख गरेका डेली मिररले जानकारी दिएको छ । 

चरम आर्थिक समस्याका बीच श्रीलंकाले करीब ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण चुक्ता गर्न सकेको छैन । साथै गलत आर्थिक नीतिहरूले देशले पर्याप्त इन्धन किन्न नसक्ने र खाद्यान्न एवम् अन्य आधारभूत आवश्यकताहरू जस्तै खान पाकाउने इन्धन र ग्यासको चरम अभावको सामना गर्नुपरेको छ ।

‘कोभिड -१९ बाट पर्यटन उद्योगमा परेको असर र अन्य कारण विदेशी कामदारहरूको भित्री रेमिट्यान्समा तीव्र गिरावट र श्रीलंकाको उच्च ऋण दायित्वहरूसँग मिलेर अन्य घटनाहरूको कारणले बढ्दो मुद्रास्फीतिले गम्भीर वित्तीय संकट निम्त्याएको छ ।

‘भविष्यमा विश्वले सामना गर्ने अझ व्यापक समस्या भनेको खाद्य सुरक्षासँग सम्बन्धित छ । आगामी महीनाहरूमा खाद्यान्नको अभाव र खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले धेरै देशहरूमा ठूलो दबाब दिनेछ’, डेली मिररले राष्ट्रपतिलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

राष्ट्रपतिले युक्रेन–रुस द्वन्द्वले कोभिड–१९ को महामारीपछि पीडित मुलुकमा संकट थपिएको भन्दै त्यस्ता जोखिममा परेका राष्ट्रहरूलाई सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले मुलुकमा देखिएको संकटलाई  समाधान गर्नका निम्ति राष्ट्रहरूबीचको सहकार्य बढाउनु पर्नेमा पनि विशेष जोड दिएका छन् ।

‘श्रीलंकाले सामना गरिरहेको गम्भीर कठिनाइहरू कोभिड – १९  महामारीको प्रभावहरूको प्रारम्भिक संकेत हो । त्यस्तै यूरोपमा जारी द्वन्द्वले अन्य कमजोर राष्ट्रहरूलाई क्षेत्रीय र विश्वव्यापीरूपमा पनि असर गर्न सक्छ’,  उनले भने ।  

राष्ट्रपतिले यस जटिल समस्यामा ध्यान दिनुपर्ने र कृषि उत्पादनलाई स्थानीय तहमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले देशवासीलाई यस्ता विकराल समस्याको सामना गर्ने उपाय खोज्न पनि आग्रह गरेका छन्  ।

‘जापान श्रीलंकाको प्रमुख विकास साझेदारहरू मध्ये एक हो र हामी आशा गर्छौं अहिले जापानबाट कोष जुटाउने सम्बन्धमा भइरहेको वार्ता छिट्टै टुङ्गिनेछ र हामीले हाम्रो अर्थतन्त्र र हाम्रो राष्ट्रलाई स्थिर बनाउन प्रयास गर्नेछौं’, डेली मिररले राजापाक्षेलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

खाद्यान्न र इन्धनको अभाव बढ्दो मूल्य र बिजुली कटौतीका कारण श्रीलंकाले स्वतन्त्रता पछि यस पटक सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । अर्थतन्त्र राम्रो अवस्थामा नभएकाले अन्तरराष्ट्रिय ब्याजदर बढ्ने उच्च जोखिम रहेको प्रष्ट देखिन्छ ।

अहिले अन्तरराष्ट्रिय खाद्यान्नको मूल्य बढ्ने खतरा पनि उत्तिकै टड्कारो छ ।

प्रतिक्रिया दिनुहोस्