राष्ट्र बैंकका सञ्चालक सदस्यद्वयले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं,जेठ १२ । नेपाल राष्ट्र बैंकका नवनियुक्त सदस्यद्वय चिन्तामणि शिवाकोटी र डा शङ्करप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।     
     
 सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रमकाबीच कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनीहरुलाई शपथ गराउनुभएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।     
     
 मन्त्रिपरिषद्को यही जेठ ६ गतेको निर्णयानुसार शिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । शिवाकोटी बैंकका पूर्वडेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक छन् ।     
     
 शिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्तराज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैंकको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ ।  सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्