नम्बर १ कै वस्तुको निर्यात घट्दो



भारतले भटमास तेल आयातमा भन्सार हटाएकाले नेपालको निर्यात अझै खस्किने

काठमाडौं,जेठ १२ । भारतले विदेशबाट आयात हुने भटमासको तेलमा लगाउँदै आएको भन्सार दर कम गरेपछि नेपालबाट हुने यसको निर्यात प्रभावित भएको छ । विशेषगरी गत चैतदेखि प्रशोधित भटमास (सोयाबिन) तेलको निर्यात प्रभावित भएको हो ।

गत फागुनसम्म नेपालबाट मासिक औसतमा ५ अर्ब १७ करोड रुपैयाँको प्रशोधित भटमास तेल भारत निर्यात भइरहेको थियो । चैतयता भने मासिक २ अर्ब हाराहारीको मात्र निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत फागुनमा ४ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको प्रशोधित भटमास तेल भारत निर्यात भएको थियो । चैतमा १ अर्ब ९० करोड ६४ लाख र वैशाखमा २ अर्ब ४ करोड ३९ लाखको निर्यात भएको तथ्यांक छ । निर्यातको पहिलो नम्बरमा भने प्रशोधित भटमास तेल वैशाखसम्मै छ ।

पहिला भारतले विदेशबाट आयात हुने भटमासको तेलमा ४५ प्रतिशतसम्म भन्सार महसुल लगाएको थियो । तर, नेपाल सार्क राष्ट्र भएका कारण यहाँबाट निर्यात हुनेमा भन्सार महसुल लाग्दैनथ्यो । त्यसकारण भारतीय व्यवसायीले नेपालबाटै भटमास तेल किन्दै आएका थिए । पछिल्लो समय भारतले भन्सार दर कम गरेपछि यहाँबाट हुने निर्यातसमेत प्रभावित भएको ओसीबी फुड्सका सञ्चालक सुरेश रूंगटा बताउँछन् ।

‘पहिला भारतले अन्य मुलुकबाट आयात हुने भटमास तेलमा उच्च दरमा भन्सार लगाएको थियो । तर, नेपाल सार्क राष्ट्र भएकाले यहाँबाट जानेमा भन्सार लाग्दैनथ्यो,’ आर्थिक अभियानसँग उनले भने, ‘पछिल्लो समय अन्य देशबाट आयात हुनेमा पनि भन्सार दर कम गरेपछि यहाँबाट हुने निर्यात प्रभावित भएको हो ।’

उनका अनुसार भारतले बुधवारदेखि त भटमास तेलमा भन्सार नै नलाग्ने घोषणा गरेको छ । अब भारतका व्यापारीले अन्य मुलुकबाट आयात गर्ने भटमास तेलमा पनि भन्सार लाग्ने छैन । त्यो अवस्थामा नेपालबाट हुने निर्यात थप प्रभावित हुने उनी बताउँछन् ।

‘हामीले पनि तेस्रो मुलुकबाट यसको कच्चा पदार्थ ल्याएर प्रशोधन गरी  निर्यात गर्ने हो । त्यसो गर्दा अन्तको भन्दा यहाँको महँगो हुन्छ,’ उनले भने, ‘त्यो अवस्थामा अब भारतका व्यवसायीलाई नेपालबाट भन्दा तेस्रो मुलुकबाटै तेल आयात गर्दा सस्तो पर्छ । फलस्वरूप हाम्रो भटमासको तेल निर्यात प्रभावित हुन्छ ।’

समग्रमा वैशाख मसान्तसम्म प्रशोधित भटमास तेलको निर्यात झन्डै २७ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार १० महीनाको अवधिमा ४५ अर्ब ३५ करोड २१ लाख रुपैयाँको भटमास तेल निर्यात भएको छ, जुन गत आवको सोही अवधिको भन्दा रू. ९ अर्ब ५९ करोड ८७ लाखले बढी हो । गत आवको सोही अवधिमा रू. ३५ अर्ब ७५ करोड ३३ लाखको भटमास तेल निर्यात भएको थियो ।

नेपाली व्यवसायीले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट भटमास तेलको कच्चा पदार्थ आयात गर्दै आएका छन् । त्यसमा प्रशोधनमार्फत ३० प्रतिशतसम्म भ्यालु एडिशन गरेर भारततर्फ निर्यात गरिँदै आएको छ । यद्यपि, भटमास तेलको नेपालमा पनि उच्च मात्रामा खपत हुने गर्छ ।

यसअघि प्रशोधित पाम तेल नेपालको पहिलो निर्यात वस्तु थियो । तर, बीचमा भारतले त्यसको आयातमा रोक लगाएपछि आर्थिक वर्ष २०७७/७८ यता  भटमासको तेल पहिलो निर्यात वस्तु बनेको  थियो । यद्यपि, भारतले पाम तेल आयातमा लगाएको प्रतिबन्ध हटाएपछि नेपालबाट पुन: पाम तेल निर्यात भइरहेको छ । अहिले पाम तेल दोस्रो निर्यात वस्तुका रूपमा स्थापित छ । यस अवधिमा १४ अर्ब ७ करोड ८५ लाख रुपैयाँको पाम तेल निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्