विश्व बजारमा गहुँको मूल्य उच्च
काठमाडौं,जेठ ६ । भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा गहुँको मूल्य उच्च दरले बढेको छ । नेपाली किसान भने सस्तो मूल्यमा गहुँ विक्री गर्न बाध्य छन् । सरकारले सही समयमा समर्थन मूल्य नतोक्ने र व्यापारीले किसानका उत्पादनको मूल्य आफूखुशी तोक्ने परिपाटीका कारण विश्व बजारमा मूल्य आकाशिँदा पनि नेपाली किसानले सस्तैमा बेच्नु परेको हो ।
भारतले गत शुक्रवारदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्व बजारमा गहुँको मूल्य उच्च दरमा बढेको छ । यस वर्ष अन्तरराष्ट्रिय बजारमा गहुँको मूल्य ६० प्रतिशतसम्मले बढेको बताइएको छ । भारतमा पनि २८ सय ८० रुपैयाँ क्वीन्टल पर्ने गहुँको पिठोको मूल्य बढेर अहिले करीब ३३ सय रुपैयाँ पुगेको व्यापारी बताउँछन् ।
विश्व बजारमा जति नै मूल्य बढे पनि नेपाली किसानले त्यसको लाभ पाउन सकेका छैनन् । सरकारले समर्थन मूल्य तोक्नुअघि नै तराईका कतिपय जिल्लाका किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा प्रतिक्वीन्टल ४ सय रुपैयाँ कममा गहुँ बेचिसकेका छन् । सरकारले निकै ढिलो गरेर गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १ सय ६५ रुपैयाँ तोकेको छ । किसानले यो मूल्यसमेत पाउन सकेका छैनन् । अहिले पनि सुनसरी, सिराहा, रौतहटलगायत जिल्लाका किसानले प्रतिक्वीन्टल २ हजार ८ सय रुपैयाँका दरले गहुँ बेचिरहेका छन् ।
‘यी जिल्लाबाट सरकारले गहुँ किन्दैन । हामीले व्यापारीलाई २ हजार ८ सय रुपैयाँमा बेचेको गहुँ आजभोलि व्यापारीले मैदा उद्योगीलाई ३ हजार ६ सय रुपैयाँ क्वीन्टलमा बेच्दै छन् । मैदा उद्योगीले सीधै हामीसँग गहुँ किन्दैनन्, जसले गर्दा हामी नाफा जति सबै बिचौलियाको हातमा पुगेको टुलुटुलु हेरेर बस्न बाध्य छौं,’ सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले भने ।
बाँके, बर्दिया र कैलालीका किसानले यसअघि नै प्रतिक्वीन्टल २ हजार ८ सय रुपैयाँका दरले व्यापारीलाई गहुँ बेचिसकेका छन् । किसानले बेचिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ती जिल्लामा गहुँ किन्न थालेको छ । किसानले गहुँ बेचिसकेकाले खाद्यका खरीद केन्द्रहरू सुनसान छन् । बर्दियाको राजापुरमा १ सय १२ क्वीन्टल गहुँ किनेको छ । त्यसबाहेक अरू खरीद केन्द्रले गहुँ किन्न नसकेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् ।
लहानका अगुवा किसान चन्द्रकान्त यादवले २५ क्वीन्टल गहुँ २ हजार ८ सय रुपैयाँका दरले स्थानीय व्यापारीलाई बेचेको बताए । ‘अहिले मूल्य बढ्यो भन्ने सुनिन्छ । हामीले त सरकारले तोकेको मूल्यमा पनि बेच्न पाएनौं । हामीले बेचिसकेपछि लहानमा खाद्यले गहुँ किन्न शुरू गर्यो । खाद्यकै मूल्यमा बेच्न पाए पनि केही राहत हुन्थ्यो । अब त व्यापारीले फाइदा कमाउने हो,’ उनले आर्थिक अभियानसँग कुराकानीका क्रममा भने ।
किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउनु दीर्घकालीन समस्या भइसकेको कृषि अभियन्ता बताउँछन् । राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले किसानलाई व्यापारीबाट ठगिन नदिन सरकारले समर्थन मूल्यको अवधारणा लागू गरे पनि सरकारकै कमजोरीले कार्यान्वयनमा चुनौती देखिएको बताए । ‘अन्तरराष्ट्रिय बजारमा मूल्य बढिरहेका बेला नेपाली किसानले थोरैमा बेच्नुपर्ने अवस्था लाजमर्दो हो,’ उनले भने । यसतर्फ सबैले ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ ।