चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योग दर्ता, २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव
काठमाडौं,वैशाख २६ । २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए ।
हालसम्म ८ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ । आव २०७८/७९ को ९ महीनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् ।
गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र ५ हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार रू. १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, रू. १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र रू. ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ ।
चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योगमा रू. दुई खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् । गत आवमा प्रस्तावित लगानी रू. एक खर्ब ३९ अर्ब थियो । हालसम्म रू. २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ ओटा डिजाइन, दुई हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जानकारी दिएको छ ।