‘अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब छ, बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिऔं’



काठमाडौं,वैशाख २५ । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् । 

शनिवार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन् । 

उनले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दावी समेत गरे । उनले कोरोना महामारीपश्चात् बैंक तथा वितीय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए । 

मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरेपनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको उनले बताए । निर्यातभन्दा पनि आयात एक्कासी रुपमा ह्वात्तै बढेकाले बाह्य क्षेत्रमा दबाब परेको उनको भनाइ छ ।  उनले चालू आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भएपनि रुस र युक्रेनको युद्धको कारणले ७ दशमलव १ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे ।

उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताए । उनले बाह्य क्षेत्रमा सन्तुलनमा ल्याउनको लागि भए पनि अबको बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्र केन्द्रित हुनु आवश्यक रहेको बताए ।


त्यस्तै अर्थविद् डा चन्द्रमणि अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दूर्घटना हुने दाबी गरे । उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथकिता राखेर बजेट ल्याउनु पर्ने आवश्यकता रहेको बताए ।

उनले सरकारले प्रतिस्थापन विधेयकमार्फत् ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए ।  सरकारले मुलुकको अर्थतन्त्र सहि दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरु हेर्दा अर्थतन्त्र संकटउन्मुख नै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्