गठबन्धन पतनको दिशामा छ : रायमाझी



अर्घाखाँची,वैशाख २४ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझीले अलोकतान्त्रिक गठबन्धन पतनको दिशामा उन्मुख भएको बताउनु भएको छ ।

नेकपा एमाले सन्धिखर्क वडा नं.-२ वडा कमिटी द्वारा बेंहोरे,पोख्राका नेटा,धारिचौर र चुत्रावेसीमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै उहाँले यथास्थितिवादी र प्रतिक्रियावादीहरुको पराजित मानसिकताको उपज गठबन्धन भएको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्ड र शेरबहादुर देउवा परिवारवादमा फसेको आरोप लगाउँदै दबाबको भरमा जनताले मत नदिने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले सुशासन ,बिकास र समृद्धिको निम्ति आफुहरुलाई विजयी गराउन अग्रह गर्नुभयो । उहाँले आफुहरु विजयी भए सन्धिखर्कको मुहार फेर्ने दावी गर्नुभयो ।उप-मेयरका उम्मेदवार मिश्रा आचार्यले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक,सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले सबै क्षेत्र र समुदायका जनताको अधिकार सुनिश्चितताको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

नेकपा एमालेको तर्फबाट सन्धिखर्क -२ का वडा अध्यक्ष पदका उम्मेदवार मोतिजङ्ग रायमाझीले सन्धिखर्क -२ मा जनचाहना अनुसारको काम भएको बताउनुभयो। उहाँले वडामा शिक्षा,स्वास्थ्य, खानेपानी,सिंचाइ, तटबन्ध र वातावरणको पक्षमा उल्लेख्य काम भएको दाबी गर्नुभयो । रायमाझीले आफुहरु लाई पु:न विजयी गराएमा नमुना काम गरेर देखाउने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्