नुवाकोट पञ्चकन्यामा माओवादी केन्द्रको जीत सुनिश्चित भैसक्यो- अध्यक्ष तामाङ



नुवाकोट,वैशाख २४ । जिल्लाको पञ्चकन्या गाउँ पालिकामा नेकपा (माओवादी केन्द्र) को जीत सुनिश्चित भैसकेको सो पार्टीका अध्यक्ष तेजबहादुर तामाङले बताएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ मा शनिबार आयोजित माओवादी केन्द्रको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले अबको दिन आफुहरुले रच्ने बताए । आउदो वैशाख ३० गते हुने निर्वाचनमा विभिन्न पार्टीले प्रतिस्पर्धा गरिरहेको बताउदै अध्यक्ष तामाङले ‘दिनको संकेत बिहानीले गर्छ’ भने झै माओवादी केन्द्रका विभिन्न कार्यक्रमसहितको घरदैलो कार्यक्रमले जीतको पुष्टि भैसकेको बताए ।

घरदैलो अभियानमा दैनिकजसो सयौं माओवादी केन्द्रका आस्थावान कार्यकर्ता, आमा-बुबा दाज्युभाईको उपस्थितिले निश्चित रुपमा विजय हुने बताउदै अध्यक्ष तामाङले भने – ‘निर्वाचन कसरी जितिन्छ भन्ने पनि विपक्षीलाई लाग्दो हो सबैभन्दा बढी मत ल्याएर जितिन्छ। कसरी सबैभन्दा बढी मत ल्याउछ भन्ने प्रश्न उब्जिएला त्यसमा अरुको दम छैन, केवल माओवादी केन्द्रको दम छ । यसर्थ नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी मत ल्याएर चुनाव जित्छ । ‘

‘कुनैपनि हालतमा पञ्चकन्यामा चुनाव माओवादी केन्द्रकै नेताले जित्छ, २०६८ सालको तथ्यांकमा १५ हजार ९ सय ४५ जनसंख्या रहेको पञ्चकन्यामा पछिल्लो तथ्यांक अनुसार २०/२२ हजार पुगेको छ, उक्त जनसंख्याको प्राय सबै माओवादी केन्द्र पार्टी पंक्तिमा लागिसकेकोले चुनाव निश्चित रुपमा जितिने ठोकुवा गरे ।’

यता नेपाली काङ्ग्रेसले पनि आफ्नो चुनावी गतिविधि द्रुत गतिमा अगाडि बढाएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ साविक ६ वडामा घरदैलो कार्यक्रम सहित विविध कार्यक्रम सम्पन्न गरेको छ । काङ्ग्रेसले राजधानीमा रहेका पार्टीसम्बन्ध नेताकार्यकर्ता समेत गाउँ गाउँमा र घरघरमा झिकाइएको छ । काङ्ग्रेसका राजधानी रहेका युवा व्यवसायी, पूर्व शिक्षक लगायतका टोली गाउँघरमा खटाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको भने पार्टीका कार्यकर्ता ग्रामीणस्तरका उपस्थित भइ घरदैलो अभियान संचालन गरिरहेको छ । उता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घरदैलो अभियानसहित आफ्नो वर्चस्व रहेको स्थानमा जीतको अवधारणा अगाडि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्