अमेरिकासँग ८० अर्बको अनुदान सम्झौता



काठमाडौं,वैशाख २३। संयुक्त राज्य अमेरिकाले मध्यम आययुक्त देशमा स्तरोन्नतिको लागि नेपालले गर्ने प्रयासमा सघाउन ५ वर्षमा झन्डै ८० अर्ब रुपैयाँ अनुदान दिने भएको छ । अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ (६५९ मिलियन अमेरिकी डलर) अनुदान उपलब्ध गराउने सम्झौतामा बिहीवार हस्ताक्षर भएको हो ।

योसँगै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत उच्च क्षमताको प्रसारण लाइन निर्माण र सडक मर्मतसम्भारका लागि ५० करोड डलर दिएको अमेरिकी सरकारबाट अर्को ठूलो सहयोग आउने ढोका खुलेको छ ।

अर्थ मन्त्रालयमा बिहीवार आयोजित एक कार्यक्रममा अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआइडी) का नेपाल मिसन निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले डेभपलमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट नामको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  

मन्त्रालयका अनुसार यो सहयोग गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ । सहायता रकमलाई सरकारको बजेट प्रणाली (रातो पुस्तक)मा अभिलेख गरेर पारदर्शी रूपमा परिचालन गरिनेछ ।

अमेरिकी सहयोगले नेपाल सरकार, नागरिक समाज र निजीक्षेत्रसँग साझेदारी गर्दै प्रजातान्त्रिक शासनको सुदृढीकरण, उद्यमशील आर्थिक वृद्धि र प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावबाट ज्यादै जोखिममा रहेका समुदायमा उत्थानशीलतामार्फत नेपालको दिगो विकासलाई अघि बढाउने अपेक्षा गरिएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा संक्षिप्त टिप्पणी गर्दै मिसन निर्देशक केवंशदले यो सहयोगले नेपालको लोकतन्त्र, सुशासन र आर्थिक वृद्धिलाई बलियो बनाउने क्रियाकलापमा योगदान गर्ने बताइन् ।

अर्थ मन्त्रालयका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको उत्थानशील क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताए ।  

अमेरिका नेपाललाई द्विपक्षीय सहयोग गर्ने पहिलो दातृराष्ट्र हो ।

अर्थ मन्त्रालयका अनुसार सन् १९५१ मा ‘प्वाइन्ट फोर प्रोग्राम’मा हस्ताक्षर गरेर अमेरिका नेपालको पहिलो दातृ मुलुक बनेको थियो । उक्त सम्झौताले ७० वर्षभन्दा लामो विश्वास, आपसी सम्मान र नेपाली जनताप्रतिको प्रतिबद्धताको इतिहास सुरु गरेको सहसचिव अर्यालले बताए । सामाजिक–आर्थिक विकासलाई अघि बढाउन अमेरिकाले दिएको आर्थिक र प्राविधिक सहायताबाट नेपाल निकै लाभान्वित भएको उनले भनाइ छ । यो वर्ष अमेरिकी र नेपाल सरकारले द्विपक्षीय सम्बन्धको ७५औं वार्षिकोत्सव मनाउँदैछन् । नेपालले आफ्नो सामाजिक आर्थिक विकास मानव स्रोतको उन्नतिमा अमेरिकी सरकारको अटुट सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ । दुवै सरकारले यो साझेदारी निकै सफल भएको स्वीकार गर्दै आगामी दिनमा पनि बलियो सहकार्य निरन्तर रहने विश्वास व्यक्त छन् ।

यसैबीच, विश्व बैंकले युथ इम्प्लोयमेन्ट ट्रान्सफर्मेसन इनिसिएटिभ (यती) मा २ करोड ३० लाख अमेरिकी डलर पुनः विनियोजन गरेको छ । उसले कोभिड–१९ बाट प्रभावित विपन्न बेरोजगारलाई सहयोग गर्न १२ करोड अमेरिकी डलरमध्येबाट उक्त रकम पुनः विनियोजन गरेको जनाएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्