न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौँ,वैशाख १९ । कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक ट्राभल एसोसिएसन, न्यूयोर्क च्याप्टर र ‘नेपाल–द वन्डरल्याण्ड अफ नेचुरल, कल्चरल र स्पिरिचुअल ब्यूटी’ सँगको सहकार्यमा शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, योग, ध्यान र अध्यात्मले भरिपूर्ण नेपालको पर्यटन क्षेत्र अन्तरराष्ट्रिय पर्यटनको केन्द्र बन्न सक्ने प्रशस्त सम्भावनायुक्त देश भएको बताउँदै नेपालको पर्यटन र अन्य व्यवसाय सामान्य अवस्थामा फर्किएकाले अतिथिहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।
कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय विशेषता र आकर्षण, कोभिड–१९ महामारीको समयमा पर्यटकलाई नेपालले दिएको सेवा, हालै थपिएका पर्यटन पूर्वाधार, सुविधा र नेपालले अपनाएका नयाँ यात्रा सहजीकरणका उपायबारे आमन्त्रित पाहुना तथा विमान चालक, ट्राभल र टुर व्यवसायी समुदायलाई नेपाल भ्रमण गर्न र नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा राख्न आग्रह गरिएको वाणिज्य दूतावासले बताएको छ ।