नयाँ मतदाताको माग : निःशुल्क शिक्षा र रोजगारी



काठमाडौं,वैशाख १८ । राजनीतिक दलनिकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्त्वाकांक्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका युवाले भने उम्मेदवारसँग उनीहरूको घोषणापत्रमा शिक्षा निःशुल्क वा कम शुल्कको हुनुपर्ने र रोजगारीका अवसर उपलब्ध गराउन ध्यान दिनुपर्ने अपेक्षा गरेका छन् ।

गाउँ वा नगरपालिका पदाधिकारीका उम्मेदवारले पूर्वाधार विकास, सामाजिक विकास, पार्किङ, फोहोरमैला व्यवस्थापनसम्बन्धी मुद्दा बढी उठाएको पाइन्छ । दलका केन्द्रदेखि स्थानीयस्तरका घोषणापत्रमा पूर्वाधारलाई बढी जोड दिएका छन् । नयाँ संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहँदा पहिलोपटक मतदान गर्न लागेका युवा ज्यादा उत्साहित नभए पनि आफ्नो भोट हाल्न पाउने अधिकारको प्रयोगमा सचेत पाइएको छ ।

काठमाडौं उपत्यकाका पालिकामा मतदान गर्ने तयारीमा रहेका र चुनावका लागि उपत्यकाबाहिर जान लागेकासँग कुरा गर्दा उनीहरूले उम्मेदवारले धेरै कुरा राख्नुभन्दा थोरै राखेर त्यो पूरा गर्नुपर्ने बताए । पहिलोपटक मतदानमा सहभागी हुन लागेका कतिपय युवाले जोसुकैले जिते पनि फरक नपर्ने बताए पनि सोचेर, बुझेर मात्रै मतदान गर्छु भन्ने धेरै भेटिए । पाका उमेरका मानिसले विगतमा केके काम गर्‍यो वा पार्टीमा के योगदान छ भन्ने हेर्ने गरे पनि युवाले भविष्यको सम्भावनामा बढी जोड दिएको पाइएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका विजय ढकाल पहिलोपटक मतदान गर्न लागे पनि निर्वाचनमा आफूले कसलाई र किन भोट हाल्ने भन्नेमा स्पष्ट छन् । उम्मेदवारमध्ये पनि युवा र कुनै न कुनै क्षेत्रमा ज्ञान प्राप्त गरेको तथा केही गर्छु भन्ने योजना भएको व्यक्ति छान्ने उनको भनाइ छ । प्राविधिक शिक्षाको विकास गर्ने सबैले भने पनि ठोस रूपमा हुन नसकेकाले अब विजयी भएर आउने व्यक्तिले प्राविधिक शिक्षाको विकासमा लगानी बढाउनुपर्ने उनको सुझाव छ । उनले भने, ‘नगरपालिका आफैले लगानी गरेर कलेज खोल्नुपर्छ र रोजगारीका अवसर पनि बढाउनुपर्छ ।’

ढकालले परिवारको दबाबमा नभई आफ्नो इच्छाअनुसार मतदान गर्ने बताए । युवाले पारिवारिक पार्टीभन्दा पनि को ठीक छ र कसले काम गर्नसक्छ हेरेर मतदान गर्नुपर्ने उनको भनाइ छ ।

अभिभावकले आफूले समर्थन गरेको पार्टीलाई भोट दिन छोराछोरीलाई दबाब दिने प्रवृत्ति गलत भएको उनी बताउँछन् । ‘म सधैं व्यक्ति हेरेर भोट हाल्छु । यसपटक एउटा पार्टीलाई दिए पनि अर्कापटक अर्कालाई दिन सक्छु,’ उनले भने ।

सल्यान बाघचौर नगरपालिकाकी समृद्धि खनाल पहिलोपटक मतदान गर्न उत्साहका साथ घर जाँदै छिन् । स्नात्तकोत्तर (एमबीए) अध्ययनरत उनी जुनसुकै दल वा व्यक्ति निर्वाचनमा विजयी भए पनि शिक्षाको विकासमा ध्यान दिनुपर्ने बताउँछिन् ।

शिक्षाक्षेत्र सेवा भए पनि अहिले व्यवसाय भइसकेकाले नियम बनाएर जनप्रतिनिधिले सुधार्न सक्ने खनालले बताइन् । निजी कलेजहरू त्यसमा पनि प्राविधिक विषयमा अध्ययन गर्न महँगो भएकाले नगरपालिकाले नै त्यस्ता निकायमा लगानी गर्नुपर्ने उनको सुझाव छ । आफू पनि बाध्यताले स्नाकोत्तर गरेपछि विदेश जाने सोचमा रहेको बताउने खनाल थप्छिन्, ‘दुःख गरेपछि त्यहीअनुसारको अपेक्षा हुन्छ तर यहाँ पाइँदैन ।’ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका नीतेश थापाले चुनाव जितेर आउने स्थानीय तहका पदाधिकारी शिक्षा, स्वास्थ्य, रोजगारी, संस्कृतिलगायत सबै क्षेत्रको विकास गर्न योजनाबद्ध रूपमा लाग्नुपर्ने बताए ।

विकासको योजना बनाउँदादेखि नै युवालाई सहभागी गराउनुपर्नेमा उनको जोड छ । ‘योजना बनाउनेदेखि कार्यान्वयनसम्ममा युवा सहभागी हुनुपर्छ,’ थापाले भने ।

आसन्न निर्वाचनमा थापाले अपेक्षा गरेका विषयमा ध्यान दिने उम्मेदवार पनि देखिएका छन् । नयाँ सोच भएका युवाले केही गर्न चाहे पनि अधिकांशले नपत्याउने हुँदा जित्न गाह्रो पर्ने उनको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्