नुवाकोटमा २ लाख २१ हजार बढी मतदाता, महिलाभन्दा पुरुष बढी



विदुर,वैशाख १५ । स्थानीय तह निर्वाचनको लागि नुवाकोटमा २ लाखभन्दा बढी मतदाता छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मतदाता २ लाख २१ हजार १ सय ६१ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार जिल्लामा महिलाभन्दा पुरुष मतदाता बढी रहेका छन् । १ लाख ८ हजार ९२ महिला मतदाता रहेको नुवाकोटमा १ लाख १३ हजार ६६ पुरुष मतदाता छन् । यस्तै तीन जना मतदाता भने यौनिक तथा लैङ्गिक अल्पसंख्यक रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनको भन्दा यसपटक ३५ हजार ३ सय ७९ नयाँ मतदाता थपिएका छन् । जसमा १६ हजार ६ सय ५० महिला र १८ हजार ७ सय २९ पुरुष रहेका छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यको संख्यामा भने कुनै थपघट भएको छैन ।

यसअघिको स्थानीय तह निर्वाचनमा ९१ हजार ४ सय ४२ जना महिला, ९४ हजार ३ सय ३७ जना पुरुष र ३ जना लैङ्गिक तथा अल्पसंख्यक गरी कुल १ लाख ८५ हजार ७ सय ८२ मतदाता थिए ।

उक्त निर्वाचनमा कुल मतदातामध्ये १ लाख ३९ हजार ५ सय ९२ जना अर्थात ७५ प्रतिशतले मताधिकार प्रयोग गरेका थिए । जसमा १ लाख ३६ हजार २ सय १७ अर्थात ९७.३ प्रतिशत मत सदर भएको निर्वाचन कार्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्