महिला उद्यमशिलतालाई प्राक्टिकल्ली बनाऔं : उद्योग वाणिज्य महासंघ अध्यक्ष गोल्छा
काठमाडौं,वैशाख १० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महिला उद्यमशिलताको बिषयलाई प्राक्टिकल्ली(व्यवहारिक) रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
न्यू बिजनेश एज प्रालिको आयोजनामा शुक्रवार काठमाडौंमा आयोजित ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को अन्तिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महिला उद्यमशिलताको बिषय गम्भिर भएको पनि उनले बताए । तर, यो सैद्धान्तिक रुपमा भन्न सहज भएपनि गर्न भने चुनौतीपूर्ण भएको उनको भनाइ छ । त्यो अवस्थामा महिला उद्यमशिलताको सवाल सैद्धान्तिक रुपमा मात्र नभएर प्राक्टिकल्ली नै अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
१ करोड रुपैयाँसम्मको परियोजनाका लागि सीमित धितो राखेर, विकास निकाय र बीमा संस्थाहरुमाझ धितोको जोखिम बाँडफाँड गरेर महिलाहरुलाई प्रोत्साहन गर्न सकिने उनको धारणा छ । यस्तो गर्न सकेमा प्याराडाइम शिफ्ट आउने उनले बताए ।
गोल्छाका अनुसार महिला उद्यमशिलता बढाउन महासंघमा विशेष समिति बनाएको र समितिले काम पनि गरिरहेको छ । तर कोभिडको महामारीले गर्दा पछिल्लो २ वर्षयता सबैको लागि कठिन समय देखिएको भए पनि महिलाहरुले घरेलु हिंसा लगायतअनेक समस्याहरु भोग्नु परेको उनले बताए । पछिल्लो समय अवस्थामा केही सुधार आएको भएपनिगर्न पर्ने कुराहरु धेरै नै बाँकी रहेको कुरामा उनले जोड दिए ।