एक अर्ब लगानीमा नेपालमै विद्युतीय गाडी उत्पादन शुरू, पेट्रोल गाडीलाई पनि विद्युतीय बनाउने
काठमाडौं,वैशाख १० । सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालिले नेपालमै विद्युतीय गाडी उत्पादन शुरु गरेको छ । नेपालमा वातावरणमैत्री सवारीसाधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले विद्युतीय गाडी उत्पादन शुरू गरेको कम्पनीको भनाइ छ ।
सुन्दर अटोले विदेशबाट पार्टपुर्जा आयात गरी नेपालमै विद्युतीय सवारीसाधन उत्पादन गर्न करीब १ अर्ब रुपैयाँ लगानीमा २ वर्षपहिले नै रूपन्देही जिल्लामा एसेम्बल प्लान्ट स्थापना गरेको थियो । प्लान्ट स्थापनापछि परीक्षण उत्पादन गर्दै आएको कम्पनीले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विद्युतीय गाडीको उत्पादनमा सफल भएको जानकारी दिएको हो । शुरुआती चरणमा कम्पनीले सबै प्रकारका मोटरसाइकल, स्कुटर र कार उत्पादन थालेको बताएको छ ।
कम्पनीले पेट्रोल र डिजेलबाट चल्ने सबै खालका मोटरसाइकल, कार र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्ने काम पनि शुरू गरिसकेको सुन्दर यातायात प्रालिका सञ्चालक भेषबहादुर थापाले बताए । एउटा स्कुटर वा मोटरसाइकललाई सय किलोमीटरसम्म बिजुलीबाट चल्ने र चार्ज सकिएपछि इन्धनबाट चल्ने बनाउन ७० देखि ८० हजार रुपैयाँ खर्च लाग्ने उनले बताए । ८०० सीसीसम्मको इन्धन कारलाई विद्युत्बाट चल्ने बनाउन १२ देखि १४ लाख रुपैयाँ खर्च हुने उनको भनाइ छ ।
आफूसँग भएका पुराना बाइक वा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्दा इन्धनमा खर्च हुने पैसा बचत हुन्छ । ‘एउटा स्कुटर वा बाइक सय किलोमीटर गुड्दा ४ सय ५० रुपैयाँ इन्धनमा खर्च हुन्छ । त्यसलाई विद्युतीयमा रूपान्तरण गरे ३१ रुपैयाँले सय किलोमीटर गुडाउन सकिन्छ,’ सुन्दर अटो इन्जिनीयरिङ प्रालिका इन्जिनीयर पाण्डव पौडेलले भने, ‘यसो गर्दा हरेक सय किलोमीटर यात्रामा उपभोक्ताले ४०० रुपैयाँभन्दा बढी बचत गर्न सक्छन् ।’ इन्धन गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न ३ दिन लाग्ने पनि उनले बताए । कम्पनीले अहिलेसम्म स्कुटर, बाइक र कारलाई मात्र विद्युतीयमा रूपान्तरण गर्ने काम गरेको छ । हायस र ठूला बसको हकमा परीक्षणको काम भइरहेको इन्जिनीयर पौडेलले जानकारी दिए ।
उपत्यकाबाहिर पनि विद्युतीय सवारी चलाउने
सुन्दर यातायात प्रालिले उपत्यकाबाहिर पनि विद्युतीय सवारी सञ्चालन गर्ने भएको छ । इन्धनको मूल्य दिनप्रतिदिन बढ्दै गएको अवस्थामा विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राख्दै सर्वसुलभ मूल्यमा यातायात सेवा दिने उद्देश्यले उपत्यकाबाहिरका प्रमुख शहरमा पनि विद्युतीय सवारी चलाउने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।
वैशाख १५ भित्र झापाको काँकडभिट्टादेखि विराटनगरसम्म विद्युतीय बस चलाउने तयारीमा रहेको कम्पनीका अधिकारी बताउँछन् । त्यसको गृहकार्य पूरा भएको छ । त्यसैगरी, जेठ १५ भित्र चितवनको भण्डारादेखि नवलपरासी (को–कहाँ) सम्म विद्युतीय बस चलाउने तयारी छ । सुन्दर यातायातले हाल काठमाडौं उपत्यकामा विद्युतीय बस गुडाइरहेको छ । आर्थिक अभियानबाट