जनताको भविष्य राप्रपासँगः लिङ्देन
रुपन्देही,वैशाख ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको भविश्यको पार्टी राप्रपा भएको बताएका छन् । बिहीबार राप्रपाले बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले देश बचाउने र बनाउने मुद्दामा राप्रपा आफ्नो अडानमा प्रतिवद्व भएको बताए ।
देशभन्दा ठूलो र माथि कोही नभएकाले देशलाई बचाउन कांगे्रस,एमाले र माओवादीका विरुद्व राप्रपालाई मत दिने समय आयो, उनले भने – गएको चुनावमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकाले देश र जनताले दुर्गती भोग्नुपरेको छ, नेपाली जनताले त्यो विषय प्रष्ट बुझेका छन्, अहिलेको जनलहरले त्यो प्रष्ट पारेको ।
उनले कांगे्रस, एमाले र माओवादीले पाएसम्म ऋण ल्याएर भत्ता खाएर देश चलाएको आरोप लगाउँदै भने – राजनीतिक दलको विकल्पमा राप्रपा आएको हो, हुंदा खांदाको राजातन्त्र र हिन्दू राष्ट्र फाल्ने निर्णय गलत भएकाले राप्रपा जनतासंग सही एजेण्डा लिएर चुनावमा मत माग्न आएको छ । कांगे्रस,एमाले र माओवादीका कारण देश असफल राष्ट्रको बाटोतर्फ गएको छ, नेपाली जनताले बुझेका छन् नबुझेकालाई हामीले बुझाउने छौं ।
संघीयताले देशको ऋण र कर बढेको बताउंदै उनले यति धेरै कर तिरेर जनताले केही नपाएको बताए । राष्ट्रघातीहरुलाई हराउन बाउवाजेको पार्टी राप्रपालाई भोट दिन उनको आग्रह थियो । राप्रपाका केन्द्रीय उपाध्यक्ष धु्रवबहादुर प्रधानले देशको नेतृत्व गर्ने असल नेतृत्व नहुंदा देश र जनताले दुःख पाएको बताए । उनले राष्ट्रवादी शक्ति राप्रपा भएकाले राप्रापाको नेतृत्वलाई विश्वास गर्न आग्रह गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सल्लाहकार समिति अध्यक्ष निरञ्जन थापाले चुनावमा राप्रपाबाहेक अन्य पार्टीहरुले जनतासंग भोट माग्ने अधिकार नभएको दावी गरे । मुलुकका लागि राजा र राजतन्त्र चाहिने उनको तर्क थियो । कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रेखा थापा, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीककुमार उदय, पुनराम पोखरेललगायतले भ्रष्टाचारको अन्त्य, मुलुकको राष्ट्रिय स्वाधीनता र एकताका लागि राप्रपालाई एकपटक अवसर दिनका लागि मत दिन आग्रह गरेका थिए ।
बुटवलको मेयरमा शेरचन मैदानमा
राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा मृगेन्द्रकुमार शेरचनलाई उठाउने घोषणा गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी जनसभामा लुम्बिनी अध्यक्ष प्रदीप उदयले बिहीबार सञ्चार उद्यमी शेरचनलाई बुटवल उपमहानगरपालिकाको प्रमुख उठाउने सार्वजनिक घोषणा गरेका हुन् ।
सभामा नेता उदयले तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाललाई उठाउने सर्वसम्मत निर्णय गरिएको छ । खनाल भलवारीस्थित होटल हिडन प्यालेसका सञ्चालक हुन् ।
त्यसैगरी उनले सिद्धार्थनगरमा सागरप्रताप राणा र देवदहको प्रमुखमा व्यवसायी माधव रिमाललाई नगर प्रमुखको उम्मेदवार बनाउने घोषणासमेत गरे ।