वीरगञ्ज नाकाबाट व्यापार : सवा ५ खर्बको आयात हुँदा निर्यात ६९ अर्बमात्रै



वीरगञ्ज,वैशाख ८ । आयात–निर्यात कारोबार परिमाणका आधारमा देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनामा करीब ६ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा ५ खर्ब ९२ अर्ब रुपैयाँबराबरको वस्तु आयातनिर्यात भएको हो । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ५ खर्ब २२ अर्ब रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने ६९ अर्ब रुपैयाँबराबरको मात्रै भएको बताए ।

गत वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा कुल व्यापार ५० प्रतिशतले बढेको तथ्यांक भन्सारसित छ । गत वर्ष कुल व्यापार ३ खर्ब ९४ अर्ब रुपैयाँबराबर थियो । यो वर्ष आयात ४४ प्रतिशतले वृद्धि हुँदा निर्यात ११९ प्रतिशतले बढेको देखिन्छ । गत वर्षको साउनदेखि चैतसम्ममा ३१ अर्ब रुपैयाँको वस्तु निकासी भएको थियो ।

निकासीमा तेल अग्रस्थानमा
वीरगञ्ज नाकाबाट प्रशोधित तेलको निर्यात सबैभन्दा बढी छ । भारतले तेलमा आयात शुल्क घटाएपछि नेपालबाट निकासी रोकिने भन्दै चिन्तित बनेका उद्योगीले अहिले धमाधम निकासी गरिरहेका छन् ।

अन्तरराष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको भाउ निरन्तर उकालो लागेकाले निकासी सम्भव भएको उद्यमी बताउँछन् । बाहिरबाट नेपालमा कच्चा पदार्थ ल्याएर प्रशोधन गरी निकासी गर्दा बाह्य बजारमा भाउ बढिसक्ने हुनाले मूल्यकै आधारमा निकासी हुन सकेको हो । यो नाकाबाट ९ महीनामा २८ अर्ब रुपैयाँबराबरको १ लाख १३ हजार ४३७ मेट्रिकटन भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यस्तै, ११ करोड ७५ लाख लिटर पाम तेल निर्यात भएको भन्सारले बताएको छ ।

यी दुई उत्पादन निकासी सूचीको क्रमशः पहिलो र दोस्रो स्थानमा परेका छन् । चौथो स्थानमा रहेको सूर्यमुखी तेल १३ हजार मेट निर्यात भएको भन्सारको तथ्यांकले बताएको छ । वीरगञ्ज नाकाबाट फलफूलको जुस, सेन्थेटिक यार्न, कपडा, पिना, गलैँचा, कार्पेटलगायत वस्तु निकासी भएको छ । आयाततर्फ इन्धन, सवारीसाधन र औद्योगिक कच्चा पदार्थ मुख्य छन् । आयातमा कडाइ गरिएसँगै गत चैतयता यस्ता वस्तुको आयातमा कमी आउन थालेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।

वीरगञ्ज नाकाबाट भएको वैदेशिक व्यापारमा भारतसँगको व्यापारघाटा सबैभन्दा बढी देखिएको छ । यो नाकाबाट मात्रै कुल ४ खर्ब ५२ अर्ब रुपैयाँबराबर व्यापारघाटा रहेकोमा भारतबाट ३ खर्ब ११ अर्ब रुपैयाँ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्