उत्पादन क्षमता विस्तार गर्ने योजनामा रिलायन्स स्पिनिङ मिल्स, बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने तयारी



काठमाडौं,वैशाख १ । मुलुककै सवैभन्दा ठूलो रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता विस्तारको लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी गर्ने भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सले विगत लामो समयदेखि छ ओटा उत्पादन इकाईमा स्पिनिङ धागो उत्पादन गर्दै आएकोमा कम्पनीले थप दुई नयाँ उत्पादन प्लान्टका लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी विस्तार गर्ने भएको हो ।

कम्पनीले यसअघि ती छ ओटा इकाईबाट वार्षिक करीब ५० मेट्रिकटन भन्दाबढी धागो उत्पादन गर्दै आएको छ  । कम्पनीले उत्पादन बढाउनको लागि दुई ओटा ७ र ८ इकाई थप्न लागेको उद्योगका प्रबन्धक महेशकुमार पोखरेलले बताए ।

प्रबन्धक पोखरेलले रिलायन्स स्पिनिङ धागो उद्योगमा अहिलेसम्म १० अर्ब रुपैयाँ लगानी भइसकेको र दुई ओटा नयाँ युनिट विस्तार गर्दा कुल लगानी १५ अर्ब ५० करोड रुपैयाँ पुग्ने जानकारी दिए । उनका अनुसार नयाँ उत्पादन प्लान्टका लागि मेसिन तथा उपकरण उद्योगमा आउन थालेका छन् । अबको छ महीनाभित्र दुई ओटा नयाँ प्लान्ट निर्माण सम्पन्न गरेर उत्पादन गर्ने तयारी रहेको छ ।

प्लान्टको जग निर्माणको काम करीब अन्तिम चरणमा पुगिसकेको छ । प्रबन्धक पोखरेलले उद्योगले उत्पादन विस्तारको लागि लगानी थप्दै लगे पनि उद्योगमा समस्या र चुनौतीहरु धेरै रहेको बताए ।  कामदार, विद्युत, दिनप्रति दिन ढुवानी खर्च बढेकाले विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा धागो उत्पादन गरेर विदेश निर्यात गर्न समस्या भने रहेको  छ ।

प्रबन्धक पोखरेलका अनुसार नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्न जमिन, भवन, मिल, मिसिनरी, श्रमिक र बैंकको ब्याज सात देशको तुलनामा कम नभएको कारण उत्पादनमा लागतमा अत्याधिक वृद्धि भएको छ । उनले नेपाल–भारत खुला सिमानाका कारण अवैध धागो चोरी निकासी तथा पैठारीको कारणले स्वदेशी कपडा उद्योग ध्वस्त भएसँगै स्थानीय विक्री वितरणमा समस्या रहेको पनि बताए । 

उता रिलायन्स स्पिनिङ उद्योगका सञ्चालक शशिकान्त अग्रवालले पछिल्लो समय बैंकिङ प्रणालीमा देखिको तरलताले उद्योग सञ्चालन गर्न समस्या भएको बताएका छन् । उनले उद्योगमा उत्पादन प्लान्ट थप गर्नको लागि लगानी गर्न समेत समस्या देखिएको छ ।

नेपालमा उद्योग खोल्नको लागि बैंकको कर्जाविना उद्योग चलाउन नसक्ने अवस्था रहेको भन्दै सञ्चालक अग्रवालले उद्योगको लागि छ महीनालाई पुग्ने पूँजी स्टक राख्नु पर्ने दाबी गरे । उनले पछिल्लो समय बैंकहरुमा छ महीनाको अवधिमा मात्रै ६ प्रतिशत रहेको बैंकको ब्याजदर बढेर १२ प्रतिशत पुग्दा लागत बढ्दै गएको पनि बताए । 

कम्पनीका उत्पादनमध्ये ६० प्रतिशत भारत र १५ प्रतिशत टर्कीलगायतका देशमा र बाँकी २५ प्रतिशत नेपालमा खपत हुने गरेको कम्पनीले बताएको छ । नेपालमा ऊनी धागोको करीब ८० प्रतिशत माग रिलायन्स कम्पनीले पूरा गर्ने गरेको छ ।

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको खनारमा रहेको मिलको पहिलो दुई प्लान्ट सन् १९९५ चैतमा स्थापना भई सन् १९९७ माघदेखि उत्पादन शुरु भएको थियो । रिलायन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/ ७८ मा ७ अर्ब ७९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । उद्योगमा अहिले ४ हजार नेपाली नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन् जसमध्ये १ हजार ५५० जना महिला कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्