तरलता अभाव हुनुको मुख्य कारण राष्ट्र बैंकको नीति : पूर्वगभर्नर नेपाल
काठमाडौं,चैत २९ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले तरलता अभाव हुनुको कारण केन्द्रीय बैकको नीति नै मुख्य कारक रहेको बताएका छन् ।
सोमवार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभामा बोल्दै उनले कोरोना महामारी पछि सरकारले गर्ने सहयोग केन्द्रीय बैकले मात्र गरेकाले समस्या आएको बताए ।
‘तरलता अभाव नेपालको दीर्घकालीन समस्या भएको छ,’ उनले भने, ‘महामारीपछि रोकिएको माग खुल्दा अत्यधिक कर्जा प्रवाह भएकाले समस्या आएको हो ।’ ‘हामीले निर्यात गर्न सक्ने वस्तु पहिचान गरेपनि त्यसमा काम गर्न सकेनौं,’ उनले भने, ‘खाद्यान्नको आयात पनि अत्यधिक बढेको छ ।’
सरकारले विकास खर्च गर्न नसकेर ढुकुटीमा पैसा जम्मा भएको भन्दै त्यो पैसा बैंकिङ प्रणालीमा पठाउनुपर्ने पनि उनले बताए । मुलुकका लागि रेमिट्यान्स दीगो आर्थिक स्रोत नभएको भन्दै उनले यसको विकल्प खोज्नुपर्ने बेला आएको बताए ।
उनले श्रीलंका र नेपालको तुलना गर्न नमिल्ने भन्दै नेपालले महंगो दरमा वैदेशिक कर्जा नलिएको पनि स्पष्ट पारे ।