नुवाकोट कांग्रेसको उम्मेदवार सिफारिसः कतै हानाहान, कतै माइन्युट तानातान
नुवाकोट,चैत २३ । नेपाली कांग्रेसले नुवाकोटको वडा इकाइबाट वडा अध्यक्ष र सदस्यहरूको नामको सिफारिस गर्ने काम केहीमा बाहेक सकेको छ । वडा प्रतिनिधि सिफारिसका क्रममा काङ्ग्रेसमा दुई पक्षीय धार स्पष्ट देखिएको छ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा उम्मेदवार सिफारिसका क्रममा कार्यकर्ता बीच झडप भएको छ । भद्रुटारमा केसी पक्षधर २ जना र बाकी १८ जना महत प्यानलका उमेदवार स्पष्ट देखिएको छ ।
नेपाली कांग्रेस श्रोतका अनुसार जिल्लाका ८८ वडा मध्ये केहीमा बाहेक सबै वडा र आधाजस्तो पालिकामा समेत उम्मेदवाररूको सिफारिस भएको बताइएको छ । सिफारिसका क्रममा शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा कार्यकर्ता बीच मंगलबार झडप समेत भएको छ । शिवपुरीको सुनखानीमा इकाई सभापति मुकुन्द पाण्डे कुटिएका छन् । मंगलबार बिहान काङ्ग्रेस युवा र पाण्डे बीच भनाभनका क्रममा झडप भएको स्थानीय सुमन खतिवडाले बताए । माइन्युट तानातानका क्रममा झडप हुँदा एक युवा घाइते भएका छन । उनले उम्मेदवारका लागि ७ जना भएको देख्दादेख्दै आफ्ना नातेतार पर्ने वर्तमान वडा अध्यक्ष समेत रहेका माधव भेटवालको नाम सिफारिस गरेकोमा आपत्ति जनाएका छन् ।
पछिल्लो समय कांग्रेसको वर्चस्व रहेको नुवाकोटमा दुई खेमा बीच उम्मेदवार देखिएपछि काङ्ग्रेस नेतृत्वलाई समस्या भएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वार चयनमा राम्रा मान्छेलाई छनोट नगरी आफ्ना मान्छेलाई छनोट गरेको भन्दै पाण्डे कुटिएका हुन । उनले आफ्ना नातेतार पर्ने अहिलेका वडा अध्यक्ष समेत रहेका माधव भेटवालको नाम सिफारिस गरेका थिए ।
उता नेतृत्व तहलाई वडा अध्यक्ष चयनमा सकस हुने देखिएको छ । कतिपय वडामा दर्जनौं युवा अध्यक्ष बन्न साम दाम दण्ड भेदमा लागेका छन् । भद्रुटारमा २० जनाले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै लिखु गाउँपालिका वडा नम्बर ६ मा ७ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।