संकटबीच श्रीलंकाली केन्द्र बैंकका गभर्नरले दिए राजीनामा
एजेन्सी,चैत २२ । श्रीलंकाली केन्द्र बैंकका गभर्नरले सोमवार राजीनामा दिएका छन् ।
देश दशकौंयताकै खराब संकटमा चुर्लुम्म डुबेकै समयमा गभर्नर अजिथ निभार्द चार्बालले राजीनामा बुझाएका छन् । उनको राजीनामा त्यहाँको मन्त्री परिषद्का सबै मन्त्रीहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरे लगत्तै आएको हो ।
आफूले राष्ट्रपति गोताबाया राजापाक्ष समक्ष राजीनामा बुझाएको ट्विट गर्दै उनले सोमवार भनेका थिए । कार्बाललाई गत सेप्टेम्बरमा केन्द्र बैंकको १६ औं गभर्नरको रुपमा नियुक्त गरिएको थियो । उनी यसअघि सन् २००६ को जुलाईदेखि सन् २०१५ को जनवरीसम्म झन्डै १० वर्ष बैंकको गभर्नरका रुपमा रहेका थिए । आफ्नो पहिलो कार्यकालमा कार्बालले श्रीलंकाली अर्थतन्त्रको आकार तेब्बरभन्दा माथि पुर्याउन मद्दत गरेको बैंकले बताएको छ ।
प्रदर्शन चर्किदै गएपछि आइतवार साँझ २६ जना मन्त्रीहरुले प्रधानमन्त्री महिन्दा राजापाक्ष समक्ष राजीनामा बुझाएका थिए । प्रदर्शनकारीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पनि राजीनामा मागिरहेका छन् । राष्ट्रपति राजापाक्षले सोमवार पूर्व महान्यायाधिवक्ता अलि साब्रेलाई नयाँ अर्थमन्त्री नियुक्त गरेका छन्।
विदेशी मुद्राको चरम अभाव बीच सरकारले इन्धन र मलखाद लगायत अत्यावश्यक सामाग्रीको आयात गर्न पनि सकिरहेको छैन । अहिले श्रीलंका सन् १९४८ मा यो स्वतन्त्र भएयताकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।
केन्द्रीय बैंकले मंगलवार ब्याजदर वृद्धिको निर्णय गर्दैछ । तत्कालै यो निर्णय स्थगित गर्ने कुनै योजना नरहेको केन्द्र बैंकका प्रवक्ताले बताएका छन् । बैंकले श्रीलंकाली रुपीको भाउ स्थिर बनाउन ब्याजदर कम्तिमा पनि २ प्रतिशत अंकले बढाउने अपेक्षा गरिएको छ । गत महीना यता रुपीको भाउ डल्को तुलनामा ३० प्रतिशतभन्दा धेरैले घटिसकेको छ ।
यसैबीच राष्ट्रपति गोताबाया राजपाक्षले देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
उनले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै विभिन्न राजनीतक दलहरुलाई सरकारमा सहभागी हुन भनेका हुन् ।