८३ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने



प्युठान,चैत २१ । प्यूठानमा चैत २५ देखि ३० गतेसम्म टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेका ९ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।

बहुवर्षीय खोप कार्ययोजनाको लक्ष्य अनुसार यही चैत २५ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । यहि चैत २२ गतेदेखि देशैभर सुरु हुन गइरहेको खोप अभियान कार्यक्रम अन्तर्गत प्यूठान जिल्लामा रहेका ८३ हजार ८४ जना बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खडकाले जानकारी दिए । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा लगाउन लागिएको उनले बताए । यो खोपको भायलमा भिभिएम रहेको तथा एक भायलमा पाँच मात्रा रहेको रंगविहीन तयारी झोलको रुपमा एक जनालाई शून्य दशमलव पाँच एमएलमा दिइने भएको छ ।

यो खोप १५ महिनादेखि २३ महिनाको बच्चालाई बाँया तिघ्राको बीच बाहिरी भाग र २ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई बाँया पाखुराको बीच बाहिरी भागमा लगाइने भएको हो । जिल्लामा ५ दिनको अभियान संचालन गरेर खोप पुर्ण रुपले दिइसक्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरि खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जिल्लामा सञ्चालन हुने अभियानमा ४४२ खोप केन्द्र मा ६९४ जना स्वास्थ्यकर्मी र १३ सय ८८ स्वयमसेवक खटिने छन ।

प्रतिक्रिया दिनुहोस्