ऋणको जालोमा फसेको श्रीलंकामा हिंसा भड्किएपछि संकटकाल घोषणा
एजेन्सी,चैत १९ । ऋणको जालोमा फसेर आर्थिक संकटमा परेको श्रीलंकामा हिंसा भड्किएसँगै संकटकाल घोषणा गरिएको छ । त्यहाँको सरकारले गएरातिबाट संकटकाल घोषणा गरेको हो ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेसँगै सेना परिचालन भएको छ । त्यहाँ प्रदर्शनकारीमाथि बल प्रयोग हुन थालेको छ ।
आर्थिक संकटले श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ । परीक्षाका लागि कागज समेत किन्न नसकेर स्थगित भएको छ । श्रीलंका अरबौं डलरको ऋणमा परेको छ । उसले पूर्वाधार विकासका लागि चीनलगायत विभिन्न अन्तर्राष्ट्रिय निकायमा महङ्गो ब्याजमा ऋण लिएको थियो । श्रीलंकामा भौतिक विकास त भयो तर ऋणको जालोमा फस्न पुग्यो ।
यसैगरी, श्रीलंकाका तामिलहरुलाई मानवीय सहयोग गर्न भारतको तालिम नाडुका मुख्यमन्त्री स्टालिनले बिहिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आग्रह गरेका छन् । श्रीलंकाका तामिलहरु समुन्द्री मार्गबाट तालिम नाडु पस्न थालेका छन् ।
श्रीलंकामा ग्याँस र पेट्रोलका लागि लामहरु देखिन थालेको छ । त्यहाँ दैनिक १३ घन्टासम्मको लोडसेडिङ भइरहेको छ । श्रीलंका विगतको पृथकतवादी हिंसात्मक गतिविधिका बेलामा भन्दा ठूलो संकटमा परेको छ ।
मानिसहरुमा आक्रोश यतिसम्म बढेको छ कि राष्ट्रपति राजापाक्षेको निजी निवासमा समेत आगजनीको प्रयास भएको छ । उनको राजीनामा मागिएको छ । श्रीलंकामा राजापाक्षेको परिवार राष्ट्रपति, प्रधानमन्त्रीलगायत शक्तिशाली पदमा छन् ।