आर्थिक वृद्धिलाई कायम राख्दै २ चरणमा शाङ्हाई बन्द गर्दै चीन
पेचिङ (चीन),चैत १५ । चीनको सबैभन्दा ठूलो शहर शाङहाईमा सोमवारदेखि दुई चरणको लकडाउन शुरु गरिएको छ ।
आर्थिक वृद्धिलाई कायम राख्दै संक्रमण नियन्त्रण गर्ने फरक रणनीति अपनाउने क्रममा यस्तो कदम चालिएको हो । शाङहाईको जनसंख्या करीब २ करोड ६० लाख रहेको छ । यो चीनको वित्त र अन्तरराष्ट्रिय व्यवसायको केन्द्र हो भने यहाँ विश्वको सबैभन्दा ठूलो कन्टेनर बन्दरगाह पनि छ ।
आइतवार अबेर रात घोषणा गरिएका पछिल्लो लकडाउनका उपायहरुमा घरबाटै काम गर्ने आदेशको साथै सार्वजनिक परिवहन र अनलाइन टयाक्सी सेवा बन्दलगायतका उपायहरु छन् ।लकडाउनको शुरुआती चरण सोमवारदेखि शुक्रवारसम्म चल्नेछ ।
वित्तीय केन्द्र रहेको शहरको पूर्वी हिस्सामा शुरुआती लकडाउन लागू हुनेछ । दोस्रो चरणको लकडाउन भने शहरको पश्चिमी हिस्सामा लागू हुनेछ । यो शुक्रवार बिहानदेखि त्यसपछि आउने अप्रिल ५ को मध्यान्हसम्म लागू हुने नगर अधिकारीहरुले बताएका छन् ।
लकडाउन र अनिवार्य परीक्षणका कारण नगरको व्यवसायिक गतिविधि प्रभावित हुन सक्ने विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय चीनमा ओमिक्रोन भ्यारिएन्ट उपप्रकार बीए.२. को प्रकोप बढेको छ ।