नयाँ सामाजिक सञ्जाल खोल्नेबारे गम्भीर रुपमा सोच्दै एलन मस्क
एजेन्सी,चैत १५ । सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले नयाँ सामाजिक सञ्जाल मञ्च खोल्नेबारे गम्भीर रुपमा सोचिरहेका छन् ।
मस्कले शनिवार एक ट्विटमा यस्तो भनेका हुन् । उनले ओपन सोर्स, एल्गोरिदम भएको अनि वाक स्वतन्त्रतायुक्त र प्रोपोगान्डा थोरै हुने सामाजिक सञ्जाल मञ्च निर्माण गर्नेबारे सोचेको हो कि भनेर एक ट्विट प्रयोगकर्ताले सोधेको प्रश्नको उत्तर दिने क्रममा मस्कले यस्तो बताएका हुन् ।
मस्क आफैं पनि निकै धेरै ट्विटर प्रयोग गर्छन् । तर ट्विटरले वाक स्वतन्त्रताको सिद्धान्तको पालना गर्न नसकेको मस्कको भनाइ छ । ट्विटरले वाक स्वतन्त्रताको सिद्धान्तको पालना गरेको छकि छैन भनेर मस्कले ट्विटरबाट सर्वेक्षण गरेको एक दिनपछि उनको सो ट्विट आएको हो ।
उक्त ट्विटमा ७० प्रतिशतभन्दा धेरैले छैन भन्ने जवाफ दिएका थिए । ट्विटर, मेटाको फेसबुक र गूगलको युट्यूबमा वाक स्वतन्त्रता दबिएको भन्दै पछिल्लो समय यी सामाजिक सञ्जालको आलोचना बढेको छ । पछिल्लो समय प्रविधि कम्पनीहरुले सामाजिक सञ्जाल खोल्ने क्रम बढेको छ ।
पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल ल्याएका छन् । अन्य केही सामाजिक सञ्जालहरु पनि छन् । तर अहिलेसम्म मूलधारका सामाजिक सञ्जालहरुलाई टक्कर दिन नयाँ मञ्चहरु सफल भएका छैनन् ।