शिवपुरी महिला स्वास्थ्य परीक्षण कार्यक्रम: गाउँपालिकाका अध्यक्ष थापाले राखे नियमित अनुगमन



नुवाकोट,चैत ७ । कतिपय ठाउँमा नजिकिदै गरेको स्थानीय चुनावका लागि जनप्रतिनिधिहरु खट्न थालिसकेका छन् । कतिपयले कस्ले कति मत पाउछन् भन्दै जोड घटाउ नै सुरु भैसकेको छ ।

तर नुवाकोट जिल्ला शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा सधैजसो सामाजिक कर्ममा लागिपरेको देखिन्छ । आफ्नो कार्यकाल सकिनै लाग्दा समेत अध्यक्ष थापा जन उत्तरदायी कार्यक्रममा खटिरहेको देखिन्छ ।

अध्यक्ष थापाले यसै सातादेखि गाउँपालिका सेवा क्षेत्र १ देखि ८ वडासम्मका सबै महिलाको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालनमा ल्याएका छन् । अध्यक्ष थापाले राजधानीसंगै जोडिएको गाउँपालिका भएपनि भौगोलिक विकटताले सबै महिलाको स्वास्थ्य परिक्षण असहज हुने भएकाले कार्यक्रम सञ्चालनमा ल्याएको बताए ।

गत चैत ६ गतेदेखि सञ्चालनमा आएको उक्त स्वास्थ्य परिक्षणमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको शिवपुरी गाउँपालिकाका स्वास्थ्य प्रमुख उद्धब कार्कीले बताए । कार्यक्रममा दिनहुँ जसो स्वास्थ्य परिक्षणका लागि भीड लागेको स्वास्थ्य कार्यकर्ताले बताएका छन् ।

परिक्षणका क्रममा पाठेघर झर्ने (आङ खस्ने) समस्याको परिक्षण, प्रेसर जाँच, अन्य रोग परिक्षणका लागि स्क्रिनिङ गरेर सुचि तयार गर्ने जस्ता कार्यक्रम भैरहेको छ । कार्यक्रम दिनहुँ स्वास्थ्य परिक्षणका लागि आउनेको भीड लागेको पाइन्छ । स्वास्थ्य प्रमुख कार्कीका अनुसार आइतबार तलाखु स्वास्थ्य संस्थामा २१५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए भने सोमबार वडा नम्बर १ र २ को ११५ जना महिलाहरुको सल्ले मैदानस्थित स्वास्थ्य चौकीमा परिक्षण भएको गाउँपालिकाको कार्यालय शिवपुरीले जनाएको छ ।

सो स्वास्थ्य परिक्षणका लागि वरिष्ठ स्त्री तथा प्रसुती रोगका विशेषज्ञसहितको मेडिकल टीम खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्