तम्घासका १ हजार घरपरिवारले पाए फोहोर संकलन् गर्ने भाँडा



गुल्मी,चैत ७ । गुल्मी जिल्ला सदरमुकाम तमम्घास बजारलाई सफा र स्वच्छ शहर निर्माण गर्न  फोहोर संकलनका लागि डस्बीन अर्थात (फोहोर संकलन् गर्ने भाँडा) वितरण गरिएको छ । नगर विकास तथा वातावरण संरक्षण संस्था रेसुङ्गा नगरपालिकाले सुन्दर सफा र स्वच्छ नगरनिर्माणका लागि सरसफाईमा आवश्यक पर्ने भौतिक सामग्री अन्र्तगत डस्बीन वितरण गरेको हो ।

जिल्ला सदरमुकाम तम्घास बजारका १ हजार घरपरिवारलाई २ थानका दरले निशुल्क डस्बीन बितरण गरिएको छ । तम्घास बजार वासीलाई रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले डस्बीन वितरण गरेका हुन् । रेसुङ्गा नगरपालिकालाई स्वच्छ, सफा र हराभरा नगर गराउने उद्देश्यका साथ बजार क्षेत्रको फोहोरलाई व्यवस्थित एवम् घर भित्र नै फोहोरको वर्गीकरण गरि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राखि व्यवस्थापन गर्नका लागि डस्बीन वितरण गरिएको छ ।

डस्बीन वितरण गर्दै नगरप्रमुख डिल्लीराज भुसालले तम्घास बजारको सुन्दरताले समग्र गुल्मी जिल्लाकै प्रतिनिधित्व गर्ने बताए । नगर प्रमुख भुसालले सदरमुकाम तम्घास बजारलाई सुव्यवस्थित, स्वच्छ र सफा शहरको रुपमा विकास गर्न खोजीरहेको बताए ।

नगर विकास तथा वातावरण संरक्षण संस्था रेसुङ्गा नगरपालिकाले कुल १३ लाख रुपैयाँ लागतमा २ हजार डस्बीन बितरण गरेको संस्थाका सचिव कृष्ण पोखरेलले बताए । संस्थाले फोहोरमैला व्यवस्थापन गर्नका लागि विगत लामो समयदेखि काम गर्दै आइरहेको छ ।  फोहोरमैला व्यवस्थापन गर्न बजारमा गठन गरिएका टोलसमिति मार्फत डस्बीन बितरण गरिएको संस्थाका अध्यक्ष रामप्रसाद पन्थीले बताए ।

यसअघि सार्वजानिक ठाउँमा डस्बीन राख्दै आएको संस्थाले बजार सफा राख्नका लागि प्रत्येका घरको अगाडी राख्न डस्बीन बितरण गरेको हो । डस्बीन बितरण कार्यक्रममा सहभागीहरुले सदरमुकाम राम्रो बजारले हुने भन्दै बजारमा फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।  नगर विकास तथा वातावरण संरक्षण संस्था संस्थामा १५ सय जना आवद्ध रहेका छन् । अझै पनि बजारका कतिपय स्थानमा खोल्सा, किनार जस्ता क्षेत्रमा जथाभावि फोहोर फाल्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्