संसद विघटन गरौं र ‘अर्ली इलेक्सन’मा जाऔं : अध्यक्ष माधवकुमार नेपाल



काठमाडौं,फागुन २२ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गरी ‘अर्ली इलेक्सन’मा जान सुझाव दिएका छन् । आइतवार नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नदिएर दुःख दिइरहेको अवस्थामा संसद विघटन गरी ‘अर्ली इलेक्सन’मा जाँदा उचित हुने बताएका हुन् ।

‘एमालेले संसद चल्न नदिएर हामीलाई दुःख दिइरहेको छ’, उनले भने, ‘अझै पनि यस्तो अन्त्य नहुने हो भने संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिएर गन्जागोल बनाएको पनि आरोप लगाए । संसद विघटन गरिदिएपछि ओलीको वितण्डा पनि सकिने उनको भनाइ छ ।

‘संसद चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’ ‘अर्ली इलेक्सन’ भएमा ३० वैशाखको स्थानीय चुनाव अगाडि नै हुन्छ कि पछाडि भन्ने पत्रकारहरुको प्रश्नमा नेता नेपालले सबै कुरा प्याकेजमा नै हुने जवाफ दिए । 

प्रतिक्रिया दिनुहोस्