काठमाडौंमा ५०० बढी घडेरी किस्ताबन्दीमा, ५०% डाउनपेमेन्ट, प्रतिआना मूल्य १३ लाखदेखि शुरु
काठमाडौं,फागुन २१ । घरजग्गा व्यवसायीहरूले अहिले जग्गा बेच्ने विभिन्न अफरहरू ल्याइरहेका छन् ।
लामो समयदेखि जग्गा विक्री नभएर हैरान भएका व्यवसायीहरूले कतै मूल्य घटाएर एकमुस्ट बेचिरहेका छन् भने कतै किस्ताबन्दीको सुविधा दिएर जग्गा विक्री गरिरहेका छन् ।
काठमाडौं उपत्यकामा यतिबेला डेढ दर्जनभन्दा बढी ठाउँमा बैंक तथा वित्तीय संस्थाबाट ऋणको व्यवस्थ गरेरै किस्ताबन्दीमा जग्गा बेच्नेहरू बढेका छन् ।
उपत्यकामा गोलढुङ्गा, धापाखेल, सिपाडोल, गोदावरी, चापागाउँ, टौखेल, चापागाउँ बोहराटार, गोकर्ण, लामाटार, बुखेल, लगायतका ठाउँमा किस्ताबन्दीमा घडेरी विक्रीका लागि राखिएको छ ।
प्रतिआना १३ लाख रुपैयाँ देखि २८ लाख रुपैयाँसम्म मूल्य
यी ठाउँमा विक्रीका लागि राखिएका घडेरीहरू प्रतिआना १३ देखि २२ लाख रुपैयाँ सम्मका छन् । १३, १६ देखि २०/२२ फिट सम्म चौडा बाटो भएका ठाउँमा यो मूल्यमा घडेरी विक्रीका लागि राखिएको हो ।
कतिपय ठाउँमा ४० प्रतिशत डाउन पेमेन्ट मागिएको छ भने कतिपय ठाउँमा ६० प्रतिशत सम्म डाउन पेमेन्ट मागिएको छ । ५ देखि १० वर्ष सम्म किस्ता तिर्न मिल्ने गरि घडेरी विक्रीमा राखिएको छ । ब्यजादर भने कम्पनी पिच्छे फरक फरक रहेको छ ।
कुन ठाउँमा कति घडेरी विक्रीमा ?
मुड्खु भन्ज्याङमा ३५ घडेरी
काठमाडौंको मुड्खु भन्ज्याङमा ३५ घडेरी किस्ताबन्दीको सुविधासहित विक्रीमा राखिएको छ । जग्गाको मूल्य भने प्रतिआना १४ लाख ७५ हजार रुपैयाँदेखि १७ लाख ७५ हजार रुपैयाँ सम्म रहेको छ । यो जग्गा किन्न ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने छ भने ५० प्रतिशत बैंक वित्तीय संस्थाबाट ऋण पाइने छ । सहकारीबाट ऋण लिएमा १६ प्रतिशत र बैंकबाट ऋण लिएमा १३ प्रतिशत ब्याजदर पर्ने कम्पनीले बताएको छ ।
गोदावरीमा ६८ घडेरी
गोदावरी १ गोदामचौरमा २० घडेरी, बोहराटारमा २६ घडेरी र टौखेलमा २२ घडेरी गरि ६८ ओटा घडेरी किस्ताबन्दीमा विक्रीमा राखिएको छ । यी जग्गाको मूल्य प्रतिआना १३ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म रहेको छ ।
गोदावरी बोहराटारका २६ घडेरी प्रतिआना १३ लाख ५० हजारदेखि, टौखेलका २२ घडेरी प्रतिआना १७ लाखदेखि र गोदामचौरका २२ घडेरी २० लाख रुपैयाँदेखि शुरु मूल्य राखेर विक्रीमा राखिएको छ । ५० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत बैंकिङ ऋण लिएर जग्गा किन्न सकिने ड्रिय हाउस कम्पनीका प्रतिनिधिले बताएका छन् ।
गोकर्णमा ९७ र भक्तपुरमा ६० घडेरी विक्रीमा
गोकर्ण नयाँपाटीमा भने ६० प्रतिशत डाउनपेमेन्ट र ४० प्रतिशत बैंक ऋण सुविधा सहित ९७ घडेरी विक्रीमा राखिएको छ । जग्गाको मूल्य प्रतिआना २० लाख रुपैयाँदेखि शुरु मूल्य रहेको छ ।
भक्तपुर सिपाडोलमा ६० ओटा घडेरी प्रतिआना २२ लाख रुपैयाँदेखि विक्रीमा राखिएको छ । किस्ताबन्दीको सुविधा दिइएको यी घडेरी किन्न बढीमा ३० लाख रुपैयाँ सम्म बैंक/सहकारीबाट ऋण लिन सकिने छ । बाँकी रकम भने खरीदकर्ता आफैले व्यवस्था गर्नुपर्ने कम्पनीले बताएको छ । आर्थिक अभियानबाट