कांग्रेस बाँकेको निर्वाचनमा ७० प्रतिशत बढी मत खस्यो
नेपालगन्ज,फागुन १९ । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा जारी जिल्ला निर्वाचनमा अहिलेसम्म ७० प्रतिशत भन्दा बढी मत खसेको छ । बिहान सवा ९ बजेबाट सुरु भएको मतदानमा दिउँसो सवा २ बजेसम्मको रेकर्ड अनुसार ७० प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन परिचालन समितिका प्रवक्ता अर्जुन ओलीले जानकारी दिए ।
निर्वाचनमा उपसभापति, सचिव, सह-सचिव, जिल्ला कार्यसमिति सदस्य र महासमिति सदस्य भन्दा सभापति पदमा केही बढी मत खसेको छ । सभापतिको लागि छुट्टै मतपत्र बनाइएको हुँदा अन्य पदमा भन्दा छिटो मतदान भएको जिल्ला सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।
मतदान अपरान्ह ४ बजेसम्म चल्ने जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले बताए । निर्वाचन सम्पन्न गर्नका लागि करिव एक सय जना निर्वाचन कर्मचारी तथा ६० जना सुरक्षाकर्मी परिचालित भएका छन । मतदानमा जिल्लाका कुल १ हजार ४ सय ९३ जना मतदाता(क्षेत्रीय प्रतिनिधी)ले मतदान गर्नेछन् ।