वैशाख १ गते गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान
काठमाडौं,फागुन १७ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सफल भएपछि परीक्षण उडानको तयारी थालिएको छ । विमानस्थलमा वैशाख १ गते परीक्षण उडानको तयारी गरिएको हो । थाइल्याण्डको एरो थाईले १० दिनसम्म गरेको क्यालिब्रेशन फ्लाइट सफल भएको प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएको छ ।
उक्त एयरलाइन्सले सोमवार क्यालिब्रेशन फ्लाइटका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुखहरूलाई विस्तृत जानकारी गराएको छ । यद्यपि प्रारम्भिक प्रतिवेदन बुझाएको एरो थाईले अबको १ सातामा अन्तिम प्रतिवेदन बुझाउने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
एरो थाईले अन्तिम प्रतिवेदन दिएलगत्तै उक्त विमानस्थलमा भन्सार, अध्यागमनका कार्यालयका साथै ग्राउण्ड ह्याण्डलिङ र कार्गाेको व्यवस्थापनका लागि संरचना विकास गरिने दाहालले बताए । एरो थाईले फाइनल प्रतिवेदन बुझाएपछि आयोजनाले परीक्षण उडान र व्यावसायिक उडानका लागि आवश्यक तयारीका लागि गृहकार्य अघि बढाउने पनि उनले जानकारी दिए । फागुन ६ गतेदेखि १५ गतेसम्म एरो थाईले उक्त विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरेको थियो ।
उक्त उडानबाट परीक्षण उडान र व्यावसायिक उडान गर्न सकिने प्रारम्भिक निष्कर्ष आएकाले अन्य तयारी शुरू गर्न लागिएको उनको भनाइ छ । क्यालिब्रेशन फ्लाइटका क्रममा समस्या नभएपछि आयोजनाले परीक्षण उडानको समय तोकेको हो ।
परीक्षण उडानपछि जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने उनले बताए । परीक्षण उडान सफल भएलगत्तै प्राधिकरणले अन्तरराष्ट्रिय उडानका लागि अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई निवेदन दिन आह्वान गर्नेछ ।
निर्माण शुरू गरेको झन्डै ७ वर्षमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न भएको हो । आन्तरिक विमानस्थलको रूपमा रहेको उक्त विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न थप ५०० बिघा जग्गा अधिग्रहण गरिएको थियो ।