नुवाकोट शिवपुरी र लिखुका १२७ जना विपन्न विद्यार्थीलाई क्यापेन फ्रान्सद्वारा आर्थिक सहयोग



नुवाकोट,फागुन १५ । जिल्लाको शिवपुरी र लिखुका दुई गाउँपालिकाका विपन्न विद्यार्थीलाई फ्रान्सेली संस्थाले आर्थिक सहयोग गरेको छ । क्यापेन फ्रान्सको सहयोगमा नुवाकोट विकास सस्थाद्वारा जिल्लाको शिवपुरी र लिखु गाउँपालिकाका १२७ जना विद्यार्थीलाई छात्रवृत्तिस्वरुप नगद वितरण गरेको हो ।

समुदायमा रहेका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरेको सो संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष ओलिभिया बेसेरसका अनुसार सो सहयोग सन २०१३ देखि निरन्तर प्रदान गरिदै आएको छ । शनिबार एक समारोहका बीच जनज्ञान निकेतन विद्यालयको प्राङ्गणमा प्रति विद्यार्थी ५ हजार २ सय ४० तहगत विद्यार्थी अनुपातका आधारमा सहयोग प्रदान गरिएको थियोे ।

कार्यक्रममा अमर आधारभूत विद्यालय चैजु, सेई बोर्डिङ स्कुल लिखु १ छहरे र जनज्ञान निकेतन विद्यालय शिवपुरी ८ का गरी कुल १२७ जना आर्थिक आयआर्जन कमजोर भएका विद्यार्थीलाई नगद सहयोग गरिएको नुवाकोट बिकास सस्थाका कोषाध्यक्ष हरि सिटौलाले बताए । कार्यक्रमका सभापति एवं शिवपुरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पदम बहादुर थपलियाले यसप्रकारको सहयोगले गरिब विपन्न परिवारका जेहेन्दार विद्यार्थीको अध्ययनमा ठुलो सहयोग पुग्ने बताउदै सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरे ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं क्यापेन फ्रान्सका अध्यक्ष ओलिभिया बेसेरसले आफुहरुले आर्थिक सहायता दिँदै उच्च शिक्षाको जिम्मा लिएका विद्यार्थीहरु विद्यालय छाडेर सानै उमेरमा विवाह गर्ने गरेकोमा दुख व्यक्त गरे । कार्यक्रममा जनज्ञान निकेतन कलेजका प्राचार्य महेश प्रसाद सिलवाल जनज्ञान निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछाने, स्थानिय समाजसेवी रमेश कडेल , राजनप्रसाद थपलिया, सुवास पाण्डे, सरोज थपलिया, लगायतले शैक्षिक उन्नतिको अपेक्षा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्