सौराहामा लामो समयपछि यूरोपेली पर्यटक
चितवन, फागुन १३ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ । कोरोना संक्रमणको जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने संकेत देखिएको छ । सौराहामा लामो समयपछि विशेषगरी यूरोपेली पर्यटक आउन शुरू गरेका छन् ।
‘भारतीय पर्यटकको बुकिङ पनि राम्रो छ,’ क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् ।
विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुशीको कुरा हो ।’ कोरोना संक्रमणको दर घट्दै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमका लागि होटल बुकिङ हुन थालेको उनको भनाइ छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मनी, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन् ।
ट्रेकिङका लागि नेपाल आएका उनीहरू सौराहा घुम्न आएको उनको भनाइ छ । सोधपुछ निकै बढेकाले आउने अक्टोबरदेखि पर्यटकीय क्षेत्र पुरानै अवस्थामा फर्कने अनुमान उनको छ ।
‘धेरै समयपछि छिटफुट रूपमा विदेशी पर्यटक देखिएका छन्। हिजोआज समूहमै पनि आउने गरेका छन्,’ उनले भने । क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष समेत रहेका घिमिरेले सन् २०२३ सम्ममा नेपालमा बाह्य पर्यटकको आगमन निकै सुधार हुने अनुमान गरे ।
चितवन राष्ट्रिय निकुञ्जसहित सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विशेषगरी एशियाली पर्यटक हात्ती चढ्न आउन थालेको बताए ।
सो सहकारीअन्तर्गत ३१ ओटा हात्ती छन् । तीमध्ये २० देखि २५ ओटाले दैनिक काम पाउन थालेका छन् । नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको हो ।
यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।