भोलिदेखि प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता सञ्चालन हुने



नुवाकोट, फागुन १२। “शिवपुरीको शान, युवा खेलाडीको पहिचान” भन्ने मुल नाराका साथ  श्री शेराबगर विकास समाजले आयोजना गरेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता २०७८ भोलिदेखि हुने भएको छ ।

शिवपुरी गाउँपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । शिवपुरी गाउँपालिकाका ८ वटा वडा मध्ये ७ वटा वडाले भाग लिएको प्रतियोगिताको समूह ए मा ३ वटा वडा र समूह बी मा ४ वटा वडा रहेका छन् । लिगकम नकआउट नाइन ए साइड ढाँचामा शिवपुरी रंगशालामा प्रतियोगिता हुनेछ ।

सार्वजनिक खेल तालिका अनुसार समूह ए मा वडा नं. ४, वडा नंं २ र वडा नंं ६ रहेका छन् । त्यस्तै समूह बी मा वडा नं. ५, वडा नं. ३, वडा नंं ७ र वडा नं. १ रहेका छन् । वडा भित्र रहेका खेलाडी मात्र भाग लिनुपर्ने आयोजकको नियम भएकाले वडा नंं ८ ले भने खेलाडी नपुगेका कारण भाग लिएन । प्रतियोगिताको पहिलो खेल फागुन १३ गते बिहान साढे ८ बजे वडा नं. ४ र वडा नंं २ बीच हुनेछ । त्यसपछि औपचारिक उद्घाटन कार्यक्रम सञ्चालन हुनेछ । सोहि दिन दिउँसो साढे १२ बजे वडा नं. ५ र वडा नंं ३ बीचको खेल हुनेछ भने अर्को खेल दिउँसो ३ बजे वडा नं ७ र वडा नंं १ बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्धितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । साथै हरेक खेलका म्यान अफ द म्याच र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वोत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट फरवार्डलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

शिवपुरी गाउँपालिकाका विभिन्न वडामा रहेका खेलाडीहरुको पहिचान, उनीहरुको क्षमता अभिवृद्धि, खेलको माध्यमबाट शिवपुरी गाउँपालिका र यस पालिकामा रहेको शिवपुरी रंगशालाको प्रचार प्रसार गर्नु प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य रहेको श्री शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए ।

खेल तालिका सार्वजनिक कार्यक्रममा शिवपुरी गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख राम बहादुर थापा, एन्फा रेफ्री सुकराज घले र प्रकाश सिटौला तथा सहभागी ७ वटै वडाका टिम क्याप्टेन उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्