निर्वाचनका लागि आयोगले आठ अर्ब ९५ करोड बजेट माग्यो
काठमाडौं, फागुन १०। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ ।
आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिए । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको उनले बताए।
प्रवक्ता पौडेलले भने, “अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिनेछ ।” निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भने कुल बजेटको करिब १० प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ ।
प्रवक्ता पौडेलले आयोगले गर्ने खर्चको अधिकांश भाग मतपत्र छपाइ तथा निर्वाचन सामग्री खरिदमा खर्चिने बताए। आयोगका कर्मचारी तथा अन्य प्रशासनिक कार्यमा थोरै मात्रै खर्च हुने उनको भनाई छ ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।