ई–पेमेन्टबाट भन्सार विभागको कारोबार ७.४ अर्ब
काठमाडौं,फागुन ९ । भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ । उक्त डिजिटल राजस्व संकलन व्यवस्था १ पुस ०७८ देखि सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयबाट सुरु भएको थियो । गत माघ १२ गते अर्थमन्त्री जनार्दन शर्माले औपचारिक उद्घाटन गरी देशभरिका सबै भन्सार कार्यालयमा कार्यान्वयन गरिएको हो ।
भन्सार विभागको प्रज्ञापनपत्रसम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलसँग जोडी विद्युतीय माध्यमबाट संकलन सुरु भएसँगै ई–पेमेन्टमार्फत विद्युतीय राजस्व संकलनमा उल्लेख्य वृद्धि हुनुका साथै आयातकर्तालाई पनि भुक्तानीमा सहज भएको छ ।
नेशनल पेमेन्ट स्वीचअन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाइम तथा नन रियल टाइम दुवै माध्यमबाट संकलन गरिने हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीचमार्फत रियल टाइममा ३.४ अर्ब र एनसीएचएल–आईपीएस मार्फत नन रियल टाइममा ४ अर्ब बराबरको संकलन भएको छ ।
भुक्तानी गर्न भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणाली (आसिकुडा) बाट रजिस्ट्रेसन वर्ष, रजिस्ट्रेसन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नम्बर प्राप्त गरी उपलब्ध कुनै पनि च्यानलमा सो विवरण दाखिला गरी अनलाइन भुक्तानी गर्न सक्छन् ।
भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आईपीएस, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्न सक्ने सुविधा छ । आर्थिक अभियानबाट