घरजग्गामा कडाइ : सिमेन्ट, डण्डीसहित दर्जनौं उद्योग डुब्दै !



काठमाडौं!फागुन ७ । नेपाल राष्ट्र बैंकले बिहीवार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै घरजग्गामा गरिने लगानी माथी थप कडाइ गरेको छ ।

प्लटिङका लागि ऋण लगानी गर्न निरुत्साहित गरेको राष्ट्र बैंकले हाउजिङ डेभलपरहरुले गर्ने प्लटिङलाई पनि एउटै कोटरीमा राखेको छ ।यसरी हाउजिङ डेभलपरलाई निरुत्साहित गर्दा योसँग जोडिएका धेरै व्यवसाय पनि धरासयी हुन सक्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले प्लटिङलाई कडाइ गर्ने नाममा सरकारले यो सँग जोडिएका दर्जनौ उद्ययोग धरासयी बनाउँन खोजेको आरोप लगाएका छन् ।

‘घरजग्गा अनुत्पादक क्षेत्र हो भने घर बनाउँदा चाहिने सिमेन्ट, डण्डी, ईट्टा, गिट्टी/बालुवा, हार्डवेयर, बिजुली, पेन्टस्, फर्निचर, आल्मुनियम लगायतका दर्जनौ उत्पादनहरु अनुत्पादक हुन् ?’ वाग्लेले प्रश्न गर्दै भने, ‘घरजग्गामा कडाइ गर्दा यी उद्योग पनि बाँच्न नसक्ने र यसले अर्थतन्त्रमा अर्को ठूलो समस्या ल्याउँछ ।’

मजदूरदेखि उद्योगीसम्म प्रभावित

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका घरजग्गामा कडाइ गर्दा मजदूरदेखि उद्योगी सम्म सबै प्रभावित हुने बताउँछन् ।

घरजग्गासँग दर्जनौ उद्योग जोडिने भन्दै निर्माणको काम ठप्प हुँदा सिमेन्ट, डण्डी, ईट्टा लगायतका उद्योग शुरुमै ठोक्किने उनले बताए ।

‘निर्माणको काम रोकिदा मजदूरको रोजीरोटीमा पनि समस्या आउँछ, उद्योगीको उत्पादन विक्री नहुँदा व्यवसायी पनि प्रभावित हुन्छन् ।’ उनले भने ।

पछिल्लो एक दशक नेपालको अर्थतन्त्र नै घरजग्गा र रेमिट्यान्सबाट चलेको छ । यो क्षेत्रमा कडाइ गर्ने हो भने सरकारले अन्यत्र लगानीको वातावरण बनाइदिनु पर्ने उनको भनाई छ ।

अहिले पर्यटन उद्योगका लागि भनेर लिएको कर्जा पनि घरजग्गामै प्रयोग भइरहेको छ । ऊर्जाका लागि लिएको कर्जा पनि घरजग्गामै प्रयोग भइरहेको छ । नीति निर्माण गर्नेहरुले हामीलाई घरजग्गा होइन यो क्षेत्रमा लगानी गर तिम्रो लगानी सुरक्षित हुन्छ भनेर देखाइ दिए घरजग्गा व्यवसायीहरु पनि यो क्षेत्रमा टाँसि नरहने वाग्लेको भनाई छ ।

रेमिट्यान्स घट्नुका साथै घरजग्गाको कारोबार पनि घटिरहेकोले अहिले अर्थतन्त्रमा चाप परेको उनको भनाई छ ।

यस्तो अवस्थामा घरजग्गाको कारोबार बढाउने गरी कर विभिन्न नीतिहरु आउनु पर्नेमा उल्टै कडाइ गर्दा, कारोबार झन खुम्चिने र यसले अर्थतन्त्र पुरानै अवस्थामा आउन झन कठिन हुने पनि वाग्लेले बताए ।

भद्रगोल घरजग्गा क्षेत्रलाई नियमनको खाँचो छ, नियन्त्रण होइन

घरजग्गा व्यवसायी विनोद सुवेदी पनि सरकारले यो क्षेत्रमा भएका व्यथिति रोक्नुको साटो कारोबार रोक्ने गरी नीति सार्वजनिक गरेको बताउँछन् । यसले घरजग्गाको कारोबार झन घट्ने तर मूल्य वृद्धि नियन्त्रणमा कुनै भूमिका नखेल्ने उनको बुझाइ छ ।

कोभिड महामारीको बेला कुनै पेशा व्यवसाय शुरु गर्न सकिन्न भन्ने जान्दा जान्दै बैंकहरुले घरघरमा गएर कर्जा दिएको परिणाम अहिले भोग्नु परेको एक व्यवसायीले बताए ।

अहिले घरजग्गा क्षेत्रमा संकट आउनुमा जथाभावी ऋण दिने बैंकहरु सबैभन्दा दोषी भएको उनको भनाई छ ।

‘अव्यवस्थित तरिकाले गरिने प्लटिङलाई मात्रै कडाइ गरेको खण्डमा उनीहरु प्लानिङ परमिट लिन आउन सक्छन् । यसले सरकारलाई फाइदा गर्न सक्छ ।’ उनले भने, ‘तर प्लटिङ गर्ने, हाउजिङ बनाउने, अपार्टमेन्ट बनाउने सबैलाई एउटै नजरले हेरेको हो भने यसले झन ठूलो बबल ल्याउँछ ।’

सबैलाई सचेत गारइएको होः राष्ट्र बैक

राष्ट्र बैंक स्रोतका अनुसार अहिले बैंकले घरजग्गा क्षेत्रका सबै व्यवसायीलाई एउटै निर्देशन दिएको छ । भविष्यमा यो क्षेत्रमा कडाइ हुँदै छ थप लगानी गर्दा जोखिम हेरेर मात्रै काम गर्नु है भन्ने सन्देश दिन खोजेको छ ।

भोलि निर्देशिका जारी गर्दा बैंकले क्षेत्र तोकेर कर्जा रोक्नुका साथै धितो मूल्याङ्कनको प्रतिशत पनि घटाइ दिन सक्ने स्रोतको भनाई छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठ भने अहिले राष्ट्र बैंकले एकल रुपमा गरिने जग्गा प्लटिङलाई मात्रै निरुत्साहित गर्न खोजेको बताउँछन् ।

संस्थागत रुपमा हाउजिङ विकास गर्ने र पहिलो पटक घर किन्नेहरूलाई निरुत्साहित गर्नुहुँदैन भन्नेमा छलफल भइरहेका छन् । निर्देशिका जारी गर्दा नियमन समितिमा पनि यो विषयमा थप छलफल हुने उनले बताए ।

‘तर व्यक्तिगत रुपमा प्लटिङ गर्नका लागि दिइने कर्जामा भने कडाइनै गरिएको हो । उनीहरुले अव कर्जा नपाउन सक्छन् ।’ उनले भने ।

घरजग्गामा कर्जा प्रवाह गर्दा अहिले पनि ४० प्रतिशत मात्रै मूल्याङ्कन भइरहेको ले यसलाई थप घटाउन नहुने अध्यक्ष वाग्लेले बताए ।

‘उद्योग धन्दालाई ८० प्रतिशत सम्म मितो मूल्याङ्कन गर्ने बैंकले घरजग्गाको हकमा ४० प्रतिशत मात्रै मूल्याङ्कन गरिरहेका छन् ।’ वाग्लेले प्रश्न गर्दै भने, ‘अव के यसलाई १० प्रतिशतमा झार्ने हो ? कि शून्य प्रतिशतमा झार्ने हो ?’

यो क्षेत्रमा पनि विभिन्न किसिमका व्यक्तिहरू भएकोले गलत गर्नेलाई कारबाही गर्नुपर्नेमा राम्रो काम गर्ने इमान्दार व्यवसायीलाई पनि हतोत्साहित गर्नु निकै दुःखद भएको वाग्लेको भनाई छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्