नेपालमा कागतीसँगै फलाउन सकिने एभोकाडो युगान्डाबाट आयात



काठमाडौँ,फागुन ७ । फलफूलको राजा भनेर चिनिने एभोकाडो नेपालमै उत्पादन गर्न सकिन्छ । नेपालमा उत्पादन गर्न सके भारत, चीन लगायतका देशमा ठूलो बजार पनि छ ।

तर नेपालीको जाँगर नचल्दा अहिले अफ्रिकी मुलुक युगान्डाबाट करोडौ रुपैयाँको एभोकाडो आयात भइरहेको देखिन्छ ।

नेपालका मध्य पहाडी जिल्लामा एभोकाडो उत्पादन हुने भएपनि थोरै नेपालीले मात्रै व्यवसाय गरेकोले त्यसले १/२ महीनाको माग पनि धान्न नसक्ने फलफूल व्यवसायीहरुको भनाई छ ।

आयातित एभोकाडो ३०० देखि ६ हजार रुपैयाँ किलो सम्म !
नेपाली उत्पादन बजारमा आउँदा ३०० देखि ४०० रुपैयाँ सम्म मात्रै पर्ने एभोकाडोको बजार मूल्य अहिले प्रतिकिलो ५०० रुपैयाँ भन्दा बढी पुगेको नेपाल फलफूल होलसेलर एसोसिएसनका अध्यक्ष अमर बानियाँले अभियानलाई बताए ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ८७ लाख ८५ हजार रुपैयाँ बराबरको २९ हजार ४३० किलो एभोकाडो आयात भएको भन्सार विभागको तथ्याक छ । 

भन्सार विभागका अनुसार पछिल्लो छ महिनामा युगाण्डाबाट ७५ लाख १४ हजार रुपैयाँ बरावरको २९ हजार २१० किलो र मेक्सिकोबाट १२ लाख ७१ हजार रुपैयाँ बरावरको २२० किलो एभोकाडो आयात भएको छ ।  

युगान्डाबाट आयात भएको एभोकाडो प्रतिकिलो २५० रुपैयाँ परेकोमा मेक्सीकोबाट आयात भएको एभोकाडो भने प्रतिकिलो झण्डै ६ हजार रुपैयाँ (५ हजार ७७७ रुपैयाँ) मा आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

गत वर्ष सम्म सीमित एभोकाडो आयात भएको नेपालमा चालू आर्थिक वर्षमा उच्च परिमाणमा एभोकाडो आयात भएको देखिन्छ ।

नेपाली एभोकाडो मिठो पनि, सस्तो पनि
आयातित एभोकाडो महँगो मात्रै नभएर स्वाद पनि नमिठो हुने गरेको फलफूल व्यवसायीहरुको अनुभव छ ।

नेपाली बजारमा अहिले एभोकाडोको माग एकदमै धेरै रहेको पनि बानियाँले बताए । उनका अनुसार नेपालमै उत्पादन भएको एभोकाडोले याहाँको बजार माग धान्न सकिदैन । 

‘नेपालमा एभोकाडोको बजार यति राम्रो भयो की ग्राहकले होलसेलमै प्रतिकिलो ३५० देखी ४०० रुपैयाँसम्म हालेर लिए ।’ उनले भने, ‘होलसेलमै त्यतिमा विक्रि हुनु भनेको खुद्रा बजारमा यसको माग झन धेरै छ भन्ने हो ।‘ युगान्डको भन्दा नेपाली एभोगाडोको स्वाद मिठो हुने उनले बताए ।

पानी जहाज नआउँदा हवाइ जहाजबाट आयात
अहिले युगान्डाबाट कतार एयरलाईन्स मार्फत एभोकाडो नेपाल ल्याउने गरिएको अध्यक्ष बानियाँले बताए । 

‘चर्को हवाई भाडाले गर्दा मूल्य बढी भएको हो’ उनले भने, ‘यूगान्डाबाट पानीजहाज आउने व्यवस्था भएको भए त्यही एभोकाडो प्रतिकिलो २०० रुपैयाँमा उपभोक्ता सम्म पुग्न सक्थ्यो ।’

बाहिरी मुलुकबाट चर्को भाडमा आयात गर्नु भन्दा नेपालमै एभोकाडो खेतीलाई व्यवस्थीत तरिकाले गर्न सके  नेपालमा एभोकाडो खेतीले राम्रो बजार लिने उनले बताए । 

उनले भने अहिले बजारले ताजा एभोकाडोको माग धान्न सकेको छैन । बाहिरी मुलुकबाट आयात गरेकाले केही हद सम्म उपभोक्ताको माग पुरा भएको छ । 

कागतीसँगै उत्पादन, निर्यातको राम्रो सम्भावना
पहिले एभोकाडो वारे नेपाली उपभोक्ता खासै जानकार थिएनन् । यसको फाईदाका वारेमा पनि मानिसहरु अनविज्ञ थिए।  अहिले मानिसहरु स्वास्थ प्रति सजक देखिएकाले पनि फलफूलको राजा एभोकाडो तर्फ नेपालीहरु आकर्षित भएको पूर्व कृषि सचिव योगेन्द्र कार्कीले बताए ।

‘नेपालमा कागती फल्ने मध्य पहाडका सबै जिल्लामा एभोकाडो फलाउन सकिन्छ ।‘ कार्कीले अभियानलाई भने, ‘ यसमा स्वास्थ्यका लागि नभइनहुने भिटामिन सी, डी, ई लगायत तत्वहरू पनि पाइन्छ ।’

अहिले २ वर्षमै फल्ने एभोकाडो पनि आइसकेको उनले बताए । नेपालमा उत्पादन गर्न सके चीन, भारत लगायतका देशमा यसको ठूलो बजार रहेको पनि कार्कीले बताए ।

नेपालमा अहिले साना ठूला फलफूल पसलमा एभोकाडो बेच्न राखेको देखिन्छ । खासै स्वादीले नभएपनि यसलाई स्वास्थ्य वर्द्धक फलको रुपमा उपभोग गर्ने गरेको कार्कीले बताए ।

दुई किसिमको हुन्छ एभोकाडो
स्थानिय बजारमा ठूला र साना गरी दुई किसिमको एभोकाडो पाईन्छ । ठूलो साईजको एभोकाडोको खुद्रा मुल्य ५५० देखि ६५० रुपैयाँ सम्म पर्ने गरेको कालिमाटी स्थित खुद्रा व्यापारी कुवेर यादबले बताए । उनका अनुसार स्वदेशी एभोकाडो ३०० देखी ४०० रुपैयाँ प्रति किलोमा विक्री हुने गरेको थियो ।

नेपालमा एभोकाडोको व्यवसायीक खेती गर्ने कृषकहरु पनि एकदमै थोरै मात्रामा रहेका छन् । तर उक्त खेतीका लागी चाहीने आवश्यक ज्ञान र सामग्री नभएकाले उनीहरुले सोचेअनुरुपको फइदा प्राप्त गर्न नसकेको व्यवसायीहरुको अनुभव छ ।

एभोकाडो सलाददेखि विभिन्न प्रकारको जाम बनाउन पनि प्रयोग गरिन्छ । यसले छाला सम्बन्धि रोग तथा मोटोपना भएका व्यतिहरुलाई लाभ पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्