दुप्चेश्वरमा रास्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै, थप एक सुत्केरीको उद्धार



नुवाकोट,फागुन ३ । विगत एक वर्ष देखि नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा सञ्चालित “रास्ट्रपति महिला उत्थान कार्यक्रम” प्रभावकारी बन्दै गएको छ ।

सो कार्यक्रम अन्तर्गत जोखिममा परेका सुत्केरीहरुको जीवन रक्षा गर्नलाई सहज भएको गाउँपालिकाको कार्यालय दुप्चेश्वरले जनाएको छ ।

मंगलवार मात्रै दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ राउतबेसी स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको अथक प्रयास पछी सुत्केरी गराउन नसकेपछि सुत्केरी महिला वर्ष २३ को रिता तामाङलाई हवाई उद्दार गरि थापाथली अस्पताल लगिएको गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङले बताए । रितासहित दुप्चेश्वरमा हालसम्म ६ जना स्वास्थ्य जोखिममा परेका सुत्केरीको उद्धार गरिएको छ ।

यस अघि वडा नम्बर ४ बेतिनीकी माया तामाङको हवाई सेवा मार्फत उद्धार गरिएको थियोे । मायाले घरमै बच्चा जन्माएपनि अत्याधिक रक्तश्रावको समस्या देखिएपछि हवाई उद्धार गरिएको थियोे ।

“रास्ट्रपति महिला उत्थान कार्यक्रम” अन्तर्गत रहेर जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई सेवा मार्फत उद्धार गर्न नजिकको स्वास्थ्य सस्था मार्फत पालिकाको स्वास्थ्य शाखालाई र स्वास्थ्य शाखा मार्फत जिल्ला प्रशासनलाई जानकारी गराउने प्रक्रिया रहेको छ । त्यस्तै जिल्ला प्रशासनले “रास्ट्रपति महिला उत्थान कार्यक्रम” समन्वय इकाईलाई लिखित रुपमा जानकारी गराउनु पर्ने हुन्छ ।

उक्त प्रक्रिया पूरा गरेको करिव १ घण्टामा जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको उद्धार हुने गाउँपालिकाको अध्यक्ष तामाङले बताएका छन् । कार्यक्रम कार्यन्वयनको लागि लामो प्रक्रिया रहेकोले त्यसलाई छोट्याउन सकेको खण्डमा झनै वढी प्रभावकारी हुने उनको भनाई छ ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मात्रै “रास्ट्रपति महिला उत्थान कार्यक्रम” सञ्चालन भइरहेको छ । करिव १ वर्षमा दुप्चेश्वरका ६ जनाले उक्त सेवा लिइसकेका छन् । ग्रामीण भेगबाट एम्वुलेन्स मार्फत अस्पतालसम्म पुराउदा सेवा लिन ढिला हुन सक्ने कारण आमा र बच्चाको ज्यान नै जोखिममा पर्न सक्ने सम्भावना रहन्छ । त्यस्तै वर्षातको समयमा सडकको दुरावस्थाको कारण एम्वुलेन्स लगायतको सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ ।

ती समस्याहरुको विकल्पको रुपमा “रास्ट्रपति महिला उत्थान कार्यक्रम” प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष तामाङले बताएका छन् । विपदको समयमा हेलिकप्टर मार्फत प्रभावित नागरिकहरको उद्धार गर्नुपर्ने हुन्छ । तर हेलिप्याडको अभावको कारण गुणस्तरीय सेवा उपलव्ध नभएको महसुस गरि दुप्चेश्वर गाउँपालिकाले तीन वटा वडामा हेलिप्याड समेत निर्माण गरिसकेको छ । वडा नम्बर १, २ र ३ नम्वर वडामा हेलिप्याड निर्माण भइसकेको गाउँपालिकाका अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्