स्पेनको क्रूर संस्कार जहाँ जनावरलाई आगोको लप्कामा दौडाइन्छ
एजेन्सी, फागुन २ । हरेक वर्षको १७ जनवरीमा स्पेनको सान बार्टोलोम डी पिनार्समा एउटा अनौठो पर्व मनाइन्छ, जुन सुन्दा पनि जोकोहीको कपालको रौं ठडिन्छ । घोडा, गधा, खच्चड इत्यादि जनावर चढेर मानिसहरु बलिरहेको आगोमा हिड्छन्, जसलाई लास लुमिनरिज नाम दिइएको छ ।
आगोको ज्वालामाथि उफ्रदै दौडिने यो अनौठो पर्व पाँच सय वर्षअघि सुरु भएको थियो । सान बार्टोलोमी डी पिनार्स गाउँका मानिसहरु अझै पनि यस संस्कारलाई मनाउँदै आएका छन् ।
पर्वका दिन जम्मा गरेका रुखका हाँगाहरु स्थानीयले गोधुली साँझमा (सेन्ट एन्थोनीको पूर्वसन्ध्यामा) जलाउँछन् । ड्रम र स्पेनी ब्यागपाइपहरुको आवाजसँगै सवारकहरु गाउँमा जलिरहेको आगोमा हिँड्छन् ।
आगोको ज्वालामा हाम फाल्दा जनावालाई सेन्ट एन्थोनी अबडको कृपा मिल्ने विश्वास छ । अबड मध्यकालमा घरेलु जनावरको संरक्षक रहेको विश्वास गरिन्छ । आगोले जनावरहरुलाई पवित्र पार्ने र उनीहरुलाई रोग लाग्नबाट जोगाउने उनीहरुको विश्वास छ ।
‘यो संस्कार हजारौं वर्षदेखि चलेको हो । पाका धर्मगुरुले जनावरलाई आगोले आर्शिवाद दिन्छन, ताकि उनीहरु आगोमा हाम फाल्न सक्छन् र पवित्र हुन्छन्’, एक स्थानीय भन्छन् । यस्तो संस्कारमा सहभागी हुने जनावर कहिल्यै बिरामी नहुने उनको विश्वास छ ।