वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : भारतबाट रू. साढे २ खर्बको आयात हुँदा निर्यात ५३ अर्ब
वीरगञ्ज,फागुन १ । वैदेशिक व्यापारको मुख्य साझेदार भारतबाट वीरगञ्ज भन्सार हुँदै चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनामै करीब साढे २ खर्ब रुपैयाँको वस्तु भित्रिएको छ । यो परिमाण निर्यातको तुलनामा करीब ५ गुणा बढी हो ।
चालू आवको साउनदेखि पुससम्मको अवधिमा भारतबाट २ खर्ब ४७ अर्ब रुपैयाँबराबरको मालसामान आयात भएको वीरगञ्ज भन्सारले बताएको छ । आयातनिर्यात परिमाणका हिसाबले वीरगञ्ज देशकै मुख्य नाका हो । वैदेशिक व्यापारको करीब आधा परिमाण यही नाकाबाट हुन्छ ।
यस अवधिमा यो भन्सार नाका हुँदै ५३ अर्ब रुपैयाँको वस्तु भारततर्फ निकासी भएको भन्सारको तथ्यांकले देखाउँछ । कुल वैदेशिक व्यापारमा दुई तिहाइ व्यापार भारतसित हुने गरेको छ ।
यो नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ, खाद्यान्नलगायत वस्तु भित्रिने गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल बताउँछन् । वीरगञ्जबाट प्रशोधित तेल, जुस, कपडा, जुत्तालगायत वस्तु भारततर्फ निकासी हुने पनि भन्सारले बताएको छ । आयातको तुलनामा निर्यात निकै कम रहेको भन्सारका अधिकारीहरू बताउँछन् ।
भारतसँगको व्यापारमा मात्रै यो नाकाबाट करीब २ अर्ब रुपैयाँ घाटा भएको छ । चालू वर्षका ६ महीनामा यो नाकाबाट मात्रै १ खर्ब ९३ अर्ब रुपैयाँ व्यापारघाटाको तथ्यांक वीरगञ्ज भन्सारले प्रकाशित गरेको छ । दोस्रो ठूलो व्यापार साझेदार चीनबाट यो अवधिमा साढे २५ अर्ब रुपैयाँको मालसामान आयात हुँदा करीब २ करोड रुपैयाँबराबरको निर्यात भएको देखिन्छ ।
यस नाकाबाट चालू आवको ६ महीनामा अघिल्लो वर्षको समीक्षा अवधिभन्दा कुल वैदेशिक व्यापार ७६ प्रतिशतले बढेको छ ।
पुस मसान्तसम्ममा ४ खर्ब ४ अर्ब बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्षको त्यसै अवधिमा २ खर्ब २९ अर्बको वैदेशिक व्यापार थियो ।
अघिल्लो आवमा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले व्यापार कम भएको थियो ।
चालू वर्षको ६ महीनामै कुल आयात ब६६ प्रतिशतले बढेको छ । कुल आयात ३ खर्ब ४८ अर्ब रुपैयाँबराबर छ । अघिल्लो वर्ष यो परिमाण २ खर्ब १० अर्ब रुपैयाँ मूल्यबराबर थियो । अघिल्लो वर्ष १९ अर्ब रुपैयाँबराबरको वस्तु निकासी भएकोमा अहिले यो रकम ५५ अर्ब पुगेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । कुल निकासी व्यापार १८६ प्रतिशतले वृद्धि भएको भन्सारको तथ्यांकले देखाउँछ ।
वीरगञ्ज भन्सार हुँदै भएको कुल वस्तु व्यापारमा २ खर्ब ९३ अर्ब व्यापारघाटा देखिएको छ । यो अघिल्लो आवको पहिलो ६ महीनाको तुलनामा ५४ प्रतिशत बढी हो । त्यसबेला व्यापारघाटा १ खर्ब ९० अर्ब रुपैयाँ थियो ।