कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन्- काङ्ग्रेस प्रवक्ता महत
चितवन,माघ २९ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले चनाखो पूर्वक लागि पर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरेका हुन् ।
शनिबार चितवनस्थित पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन पुगेका महतले काँग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न पनि नहुने बताए । कांग्रेस चितवनको जिल्ला अधिवेशन १३ फागुनमा गर्ने कांग्रेसले निर्णय गरेको छ ।
पार्टीको लक्ष्य प्राप्तिको लागि निर्वाचन जित्नै पर्ने भन्दै उनले एक ढिक्का भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । ‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’, उनले भने, ‘यसतर्फ कांग्रेस सतर्क हुनुपर्छ ।’