एमसीसी अघि बढाउन कांग्रेसभित्र दबाब



काठमाडौं,माघ २८ । लामो समयदेखि विवादित बन्दै आएको अमेरिकी अनुदान सहयोग (एमसीसी) सम्झौता अघि बढाउन नेपाली कांग्रेसभित्र चर्को दवाब पर्न थालेको छ । नेपाली कांग्रेसको जारी कार्यसम्पादन समिति बैठकमा एमसीसी पारित गर्ने र जनतालाई यसबारे बुझाउनुपर्ने विषयमा नेताहरू एकमत हुँदा सम्झौता अनुमोदनका लागि अघि बढाउन पार्टीभित्र दबाब बढेको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीका बारेमा ब्रिफिङ गर्न पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई समय दिएका थिए । महतले लामो व्याख्या गर्दै एमसीसी पारित गरेर जानुपर्ने सुझाव दिएका थिए । ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सडक र प्रसारण लाइनका लागि मात्र भएकाले यसमा अलमल गर्न आवश्यक नरहेको उनले बताएका थिए ।

एमसीसी अस्वीकार गर्दा अन्तरराष्ट्रियस्तरमा देशको छवि बिग्रिन सक्ने भन्दै गठबन्धनका दलहरूलाई पनि मनाएर जनतालाई कन्भिन्स गर्नुपर्ने उनको सुझाव थियो । बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) सदनमा लैजाने कुरामा सभामुखले आफ्नो पदीय दायित्व निभाउनुपर्नेमा समेत नेताहरूले आवाज उठाएका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रभावशाली नेता डा. शशांक कोइरालाले पनि एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए । कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका विषयमा संसद्ले निर्णय लिन पाउनुपर्नेमा बैठकमा आवाज उठेको बताए । ‘सभामुखको काम नै सरकारले पठाएका विधेयकहरू सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसीसी पनि रोक्न पाउनु हुँदैन, संसद्मा छलफल गराउनुपर्छ,’ महतले भने ।

एमसीसी पारित गर्नुपर्ने बैठकको निष्कर्ष रहेको महतले सुनाए । उनले भने, ‘एमसीसीबारे पनि छलफल भएको छ । अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ । संसद्मा एमसीसी लैजानुपर्छ भन्ने निष्कर्ष रहेको छ ।’

सत्ता गठबन्धनमा मतभेद कायम रहँदा एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्न सकेको छैन । पछिल्लो समय सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने भन्दै पठाएको पत्रले राजनीतिमा तरंग पैदा भएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्