निर्णय फिर्ता लिन याक एण्ड यती होटलको आग्रह



काठमाडौं,माघ २८ । काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यती होटलले कारबाहीको निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । क्यासिनो तथा होटल नवीकरण दस्तुरबापत ४२ करोड २५ लाख ६८ हजार रोयल्टी नतिरेको भन्दै पर्यटन विभागले बुधवार उक्त होटलको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गरिदिएको थियो ।

बिहीवार होटल व्यवस्थापनले पत्रकार सम्मेलन गर्दै विभागको उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै होटलका कर्पोरेट सल्लाहकार रमण कर्णले विभागले कुन कानूनका आधारमा होटल बन्द र सम्पत्ति रोक्का गरेको हो भन्दै प्रश्न गरे । सरकारको सो निर्णय फिर्ता नभए कानूनी उपचार खोजिने उनले बताए । २०७१ मै क्यासिनोको इजाजतपत्र खारेज भएपछि होटलको नाममा क्यासिनो नरहेको उनको दाबी छ ।

विभागले सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायत रकम होटलले नतिरेको भन्दै इजाजत र होटल स्तरको वर्गीकरण रद्द गरेको हो ।

पटकपटक पत्राचार गर्दा पनि रोयल्टी नबुझाएको भन्दै विभागले सूचनामार्फत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का गर्न अनुरोध गरेको थियो । यस्तै विभागले सोही पत्रमा बोधार्थ गर्दै नेपाल राष्ट्र बैंकलाई होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका खाता तथा वित्तीय कारोबार रोक्का गर्न अनुरोध गरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्