निर्जीवन बीमाको प्रदेशगत व्यवसाय : बागमतीमा ६८%, कर्णालीमा ०.८९ %
काठमाडौं,माघ २७ । निर्जीवन बीमामा बागमती प्रदेशको व्यवसाय सबैभन्दा बढी देखिएको छ । कुल निर्जीवन बीमा व्यवसायमा बागमती प्रदेशको मात्रै दुई तिहाइभन्दा बढी अंश देखिएको बीमा समितिको एक तथ्यांकले देखाएको छ ।
बीमा समितिले निर्जीवन बीमा व्यवसायको प्रदेशगत रूपमा तयार गरेको एक तथ्यांकअनुसार यस्तो बीमाको व्यवसायमा बागमती प्रदेशको मात्रा ६८ प्रतिशत अंश रहेको छ ।
गत पुस महीनाको तथ्यांकका आधारमा गरिएको विश्लेषणले यस्तो देखाएको हो । बीमा व्यवसायसम्बन्धी प्रदेशगत तथ्यांक यसभन्दा पहिला तयार गरिएको थिएन ।
गत पुसमा २० निर्जीवन बीमा कम्पनीको रू. ३ अर्ब ६७ करोड १२ लाख बीमाशुल्क संकलन भएको छ, त्यसमा बागमती प्रदेशबाट मात्रा रू. २ अर्ब ४८ करोड २० लाख बीमाशुल्क संकलन भएको छ । निर्जीवन बीमा व्यवसायमा दोस्रो स्थानमा भने प्रदेश १ देखिएको छ । पुसमा उक्त प्रदेशबाट ३२ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
निर्जीवन बीमा व्यवसायमा कर्णाली प्रदेशको अंश भने सबैभन्दा कम देखिएको छ । तथ्यांकअनुसार निर्जीवन बीमामा कर्णाली प्रदेशकको अंश शून्य दशमलव ८९ प्रतिशत रहेको छ । समीक्षा महीनामा त्यो प्रदेशबाट ३ करोड २७ लाख रुपैयाँ मात्रा बीमाशुल्क संकलन भएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमा व्यवसायमा प्रदेशगत असमानता देखिएको बताए । ‘व्यावहारिक रूपमा बागमती प्रदेशमा नै बढी व्यवसाय हुनु स्वाभाविक हो । अधिकांश व्यावसायिक क्षेत्र यहीँ छन् । बीमा कम्पनीका शाखा कार्यालय पनि यहाँ बढी छन्,’ उनले भने, ‘त्यसअनुसार बागमतीमा बढी व्यवसाय हुनु स्वाभाविक हो । अन्य प्रदेशहरूमा पनि बीमा व्यवसाय बढाउने गरी समितिले काम गरेको छ ।’
बीमाको आवश्यकता दुर्गम ठाउँहरूमा अझ बढी हुन्छ । तर, बीमा कम्पनीहरू शहरकेन्द्रित हुँदा कर्णाली, सुदूरपश्चिमजस्ता प्रदेशमा बीमा कम्पनीहरूको कम उपस्थिति रहेको छ । अब त्यस्ता प्रदेशमा पनि बीमाको पहुँच तथा व्यवसाय बढाउने गरी काम गरिने पौडेलले बताए ।
‘अब कम्पनीहरूलाई शहरशहरमा शाखा खोल्न दिँदैनौं । जतिसक्दो जिल्ला तथा पालिकाहरूमा शाखा स्थापना गर्न प्रोत्साहन गर्छौं,’ उनले भने, ‘त्यसपछि पनि अन्य प्रदेशमा पनि बीमाको व्यवसाय बढ्नेछ । यसका अलावा अन्य कामहरू पनि गर्ने छौं ।’
समितिको तथ्यांकअनुसार चालू आवको पुस मसान्तसम्म भने १९ अर्ब ९ करोड ८२ लाख निर्जीवन बीमाशुल्क संकलन भएको छ ।
बीमाशुल्क संकलन गर्ने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ, उक्त कम्पनीले समीक्षा अवधिमा २ अर्ब ४३ करोड ८१ लाख बीमाशुल्क संकलन गरेको छ ।
दोस्रोमा भने सगरमाथा इन्स्योरेन्स देखिएको छ । उक्त कम्पनीले समीक्षा अवधिमा १ अर्ब ७२ करोड ९६ लाख बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको नेको इस्योरेन्सले १ अर्ब ५८ करोड ३८ लाख बीमाशुल्क संकलन गरेको छ । आर्थिक अभियानबाट