आयातमा थप कडाइ
काठमाडौं,माघ २७ । बढ्दो शोधनान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि नेपाल राष्ट्र बैंकले विदेशबाट सामान आयातमा थप कडाइ गरेको छ । बुधवार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्दा आयातकर्ताले शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने सामानहरूको संख्या बढाएको छ ।
पुस पहिलो साता निर्देशन जारी गर्दै राष्ट्र बैंकले विभिन्न सामानको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । सो निर्देशनअनुसार हाल बियर, वाइनलगायत मदिराजन्य, सुर्तीजन्य पदार्थ, चाँदी, सुन, काठमा फर्निचर चिनी तथा मिठाइजन्य वस्तु, मिनरल वाटर, इनर्जी ड्रिंक, नेल पोलीस बडी लोसन फेस क्रिमलगायत शृंगारका सामान, टोपी, जुत्ता, छाता, निर्माणका मार्बल, टायल्सलगायत सामान आयात गर्न शतप्रतिशत मार्जिन राख्नुपर्ने प्रावधान छ ।
बुधवारको निर्देशनअनुसार अब ओखर, बदाम, केरा, चुरोट, केक, हाते ब्याग, घडी, सवारीसाधनका सीट र पेन्टिङ तथा ड्रइङका वस्तु आयात गर्नसमेत शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएको छ ।
यसैगरी मोटरसाइकल तथा स्कूटर आयात गर्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था रहेकोमा अब उनी धागो, तयारी कपडा, ज्याकेटलगायत तयारी पोशाक आयात गर्नसमेत ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ ।
नगद मार्जिन राख्न बैंकहरूले ऋण दिन पाउँदैनन् भने मार्जिन रकममा बैंकहरूले ब्याज दिन नपाउने व्यवस्था छ ।
घट्दो रेमिट्यान्स र उच्च आयातले गर्दा देशको वैदेशिक मुद्रा सञ्चिति घट्दै गएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामै विलासिताका सामान आयातमा निरुत्साहित गर्ने घोषणा गरेको थियो । आर्थिक अभियानबाट