स्थानीय चुनाव स्थगित गर्न लोसपाको माग
काठमाडौं,माघ २६ । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय चुनाव स्थगित गर्न माग गरेको छ ।
निर्वाचन आयोग, राष्ट्रपति र प्रतिपक्षीको दबाबमा सरकारले आगामी बैशाख ३० मा देशभर एकै पटक स्थानीय तहको निर्वाचन तोकेर अरु तयारी शुरु गरेपनि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले कार्यकाल नसकिएका स्थानीय तहको निर्वाचन रोक्न आग्रह गरेको हो ।
स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै स्थानीय तहको निर्वाचन गराउन लागेकोप्रति आपत्ति जनाउँदै उसले सरकारको ध्यानाकर्षण गराएको हो । लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहको पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २ सय १५ को ६, २ सय १६ को ६ र २ सय २० को ५ अनुसार हुने भनिएको र कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एकदिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरित हुने भनेका छन् ।