टोखा झोरको झोर महाङ्काल विद्यालय (फोटो फिचर)
काठमाडौं,माघ २२ । टोखा नगरपालिकाको उत्तरी भूभागमा रहेको झोर महाङ्काल विद्यालय एक नमूना माध्यमिक विद्यालय हो । विक्रम संवत १०३५ साल चैत १६ गते स्थापना भएको यस विद्यालय टोखा छहरे सडक मार्ग नजिकै झोरमा केहि पाइला उकालो नजिकै रहेको छ ।
चारवटा आफ्नै पक्की भवन रहेको यस विद्यालय विस्तारै शैक्षिक प्रगतिपथमा लम्किएको पाइन्छ । विद्यालयको इतिहासलाई हेर्ने हो भने तत्कालीन समयमा भन्दा पछिल्लो वर्षमा विद्यालयको भौतिक पक्षमा सबल देखिन्छ।
विद्यालयको ४२ वर्षे इतिहासमा यस विद्यालयका हाल सेवारत प्रधानाध्यापक हरिकृष्ण धितालको अतुलनीय योगदान रहेको देखिन्छ । विक्रम संवत २०७२ साल जेष्ठ १ गते जब यस विद्यालयमा प्रधानाध्यापकको रूपमा प्रधानाध्यापक धिताल आए तब भौतिक तथा शैक्षिक विकासमा फड्को मारेको देखिन्छ ।
त्यसो त अप्रयाप्त शिक्षक दरबन्दीका बाबजुद विद्यालयको शैक्षिक गुणस्तर विकासमा सम्पुर्ण शिक्षकवर्गको कडा मिहिनेत पुष्टि हुन्छ । विद्यालयमा हाल २० जना शिक्षक रहेका छन् । माध्यमिक तथा विद्यार्थी संख्यागत तुलनामा शिक्षक संख्या आफैमा न्यून हो। यद्यपि विद्यालयका प्रधानाध्यापक धितालले टोखा नगरपालिका शिक्षा समितिलाई शिक्षक दरबन्दीका लागि आनुनय विनय नगरेका होइनन् ।
प्रधानाध्यापक धितालले शिक्षकहरुको अथक प्रयासले कोभिड महामारी बीच शैक्षिक स्तर खस्कन नपाएको बताए । हाल विद्यालयमा ३ सय ६३ जना विद्यार्थी अध्ययनरत छन् । बहुसंख्यक जनजाति अध्ययनरत यस विद्यालयका अभिभावक छिमेकी जिल्ला नुवाकोटका अभिभावक समेत समेटिएका छन् ।
हाल विद्यालयमा अध्ययनरत बालबालिकामध्ये ८०% जनजाति रहेका छन् । निजि विद्यालयका कयौं गाडी यस क्षेत्रमा बालबालिका लिन आइपुगे पनि यस संख्यामा बालबालिकाको उपस्थिति यस विद्यालयको गुणस्तरप्रतिको अभिभावकको विश्वास रहेको यस विद्यालयका शिक्षकहरु बताउँछन् ।
विद्यालयको भौतिक पक्षको कुरा गर्दा हाल विद्यालयमा ४ वटा पक्की भवन रहेको छ । साथमा निजि विद्यालय सरह कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशाला, नृत्य कक्षा नियमित सञ्चालन भैरहेका छन् । यसप्रकारको शैक्षिक कार्यक्रमले विद्यार्थीको मन जितेको विद्यालयका अध्यक्ष दिलबहादुर तामाङ बताउँछन् । अध्यक्ष तामाङले विद्यालयले यस क्षेत्रका न्यून आयश्रोत भएका अभिभावक र तिनका बालबालिकाको पढ्ने चाहाना पूरा गरेर अतुलनीय गुण लगाएको समेत बताए ।
सामुदायिक विद्यालयमा यसप्रकारको शिक्षा, जनशक्ति सबै ठाउँमा यसैगरी भैदिए निजि तथा सामुदायिक विद्यालय बीचको खाडल सधैको लागि अन्त्य हुने सरोकारवालाहरु बताउँछन् । विद्यालयको नियमित अनुगमन, शैक्षिक सुधारका पक्षमा अभिभावकको चासो रहेकाले विद्यालयको शैक्षिक विकासमा अब्बल ठहरिएको टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।